डाक्टर अभावमा प्रसूति सेवा बन्द

भोजपुर स् दक्ष चिकित्सक अभाव भएपछि जिल्ला अस्पताल भोजपुरमा प्रसूति सेवा बन्द भएको छ। कर्मचारी समायोजनले प्रसूति गर्ने चिकित्सक सरुवा भएपछि ३ महिनादेखि सेवा ठप्प भएको हो। बन्द सेवाले गर्भवती महिला सास्ती खेप्दै जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।

एक जना पनि प्रसूति चिकित्सक नभएपछि साउन १९ देखि सेवा बन्द छ। प्रसूतिको शल्यक्रिया गर्ने प्रमुख चिकित्सक नै सरुवा हुनाले सेवा पूर्णरूपमा ठप्प भएको हो। सेवा बन्द हुँदा रातारात गर्भवती महिलालाई अन्यत्र लैजानुपरेको भोजपुर नगरपालिका–६, देउरालीकी वसन्ती राईले सुनाइन्। उनले भनिन्, ‘साह्रै समस्या भएको छ। सामान्य डेलिभरीका लागि पनि धरान, विराटनगर, काठमाडौं नलगी नहुने भा’छ।’ प्रसूतिगृह बन्द भएपछि सामान्य किसिमका गर्भवती महिलालाई कष्टकर यात्रा गरी अन्यत्र लैजानुपर्ने विकल्प सिर्जना भएको छ।

प्रसूतितर्फका स्थायी र करार गरी ८ जना प्रसूति चिकित्सक कार्यरत थिए। कर्मचारी समायोजनपछि सरुवा जानाले पनि चिकित्सक अभाव झेल्नुपरेको अस्पतालले जनाएको छ। दरबन्दीअनुसार पर्याप्त चिकित्सक नहुनाले प्रसूति गर्न आउने गर्भवती महिलालाई बाहिर रेफर गर्नुपरेको चिकित्सक रञ्जना श्रेष्ठ सुनाउँछिन्। उनले कच्ची सडक र नियमित हवाई उडान नहुनाले गर्भवती महिलालाई झन् समस्या थपिने गरेको बताइन्।

तीनै तहका सरकार र सरोकारवाला निकायको ध्यान नपुगेकाले गर्भवती महिला ज्यानै जोखिम मोलेर जिल्लाबाहिर लैजानुपरेको स्थानीय फविन्द्र प्रधानको गुनासो छ। उनले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारकै नजरमा नपरेकाको हो कि या त दरबन्दीअनुसार चिकित्सक पठाउनै नचाहेको हो। त्यही लापरबाहीले गर्दा गर्भवती महिलाको ज्यान गुमाउने स्थिति सिर्जना भएको छ। यसतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यान पुगोस्।’

प्रदेश १ अन्र्तगत सामाजिक विकास मन्त्रालय, निर्देशनालय, जिल्ला समन्वय समिति र नौवटै स्थानीय तहलाई प्रसूति सेवा सुचारु नहुँदा उत्पन्न समस्याबारे जानकारी गराइएको अस्पतालका निमित्त प्रमुख डा। पवित्रा श्रेष्ठले सुनाइन्। उनका अनुसार अस्पतालमा प्रसूति सेवा पुनः सञ्चालनमा ल्याउन आवाश्यक पहल भइरहेको छ। अस्पतालमा वार्षिक ३ हजार हाराहारीमा महिला सुत्केरी गर्न धाउने गरेका छन्। अहिले पनि सातामा ३ देखि ७ जनासम्म गर्भवती महिलालाई रेफर गर्नुपर्ने स्थिति रहेको अस्पतालले जनाएको छ। सडकको सहज पहुँच नहुँदा उत्तरी साल्पासिलिछो, टेम्केमैयुङ गाउँपालिका, दक्षिणी आमचोक, हतुवागढी, रामप्रसाद राई गाउँपालिकाका केही दुर्गम भेगका बिरामी तथा महिलाले अझै जोखिम मोल्नुपर्ने स्थिति छ।

घरेलु विधिले प्रसूति गराउँदै आएका गर्भवती महिलाको ज्यान जाने जोखिम कम गर्ने उद्देश्यले हङकङ निवासी भोजपुरवासीको चन्दा संकलनबाट ०६७ सालमा प्रसूति भवन बनाइएको थियो। उक्त भवनमा ०७४ साल फागुनमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति गरिएको थियो।

स्रोत=http://annapurnapost.com/news/139472

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय