९ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति र स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको शुभकामना दिएकी छन् ।
राष्ट्रपति भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी हुन् ।

यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहारमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको स्मरण राष्ट्रपतिले गरेकी छन् ।
तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
तिहार पर्वको अभिन्न अंगको रुपमा रहेको देउसी(भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सदभाव र सहिष्णुता अझ सुदृढ बन्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।