९ कात्तिक, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह(चालकको मृत्यु भएको छ । वडा नम्बर ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा तमानखोला(१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सहचालक ओमबहादुर गोतामेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

पिकअप जिप सडकदेखि करिब एक हजार २०० मिटर तल खसेको प्रहरी चौकी तमानखोलास्थित बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ ।
यात्रु छाडेर फर्कंदै गरेको जीप घुम्तीमा साँघुरो सडक भएको हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
रातको समयमा दुर्घटना हुँदा उद्धारमा निकै समस्या भएको प्रहरीले जनाएको छ । शव राति नै परीक्षणका लागि ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिए ।