कोरोना महामारीका बढी रहेका बेला अर्बाैं लगानीमा होटल खुल्यो

कोरोनाका कारण कतिपयले होटल व्यवसाय नै परिवर्तन गरे ।

वर्षौंदेखि चलेका नामी होटल पनि अस्थायी रूपमा बन्द भए । कर्मचारीको पारिश्रमिक दिन नसक्ने भन्दै अन्नपूर्ण होटल अस्थायी रूपमा बन्द भयो ।

होटलकी कार्यकारी अध्यक्ष सिर्जना राणाले सन् २०२१ भरका लागि होटल बन्द भएको बताइसकेकी छन् ।

उनले आउँदो वर्षसमेत विदेशी पर्यटक उल्लेख्य रूपमा आउने सम्भावना नदेखिएका कारण तत्कालका लागि होटल नखोल्ने निर्णय गरेको बताइन् ।

अध्ययन गरेर अर्कै वर्षदेखि होटल खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय गर्ने उनको भनाइ छ ।

तर एकातिर कोरोनाको मार खेप्न नसकेको भन्दै धमाधम सानादेखि पाँचतारे होटलसम्म बन्द हुँदा अर्कोतर्फ नयाँ होटल सञ्चालनमा आएका छन् ।

जसमा ठूलो लगानी भित्रिएको छ । अर्बौंको होटलहरु धमाधम खुलिरहेका छन् । कोरोनाकै बीच एउटा अर्बभन्दा बढी लगानी भएको होटल खुलिसकेको छ भने एउटा बनिरहेको छ ।

अर्बभन्दा बढी लगानीका होटल

कोरोना माहामारीकै बीच अन्तर्राष्ट्रिय ब्रान्ड होटल रमादाले २ अर्ब लगानीमा होटल सञ्चालनमा ल्याएको छ ।

भिजिट नेपाल २०२० लाई लक्षित गरेर बनाइएको होटल कोरोनाका कारण सञ्चालनमा ढिला भएको अध्यक्ष गोपाल पङ्गेनीले बताए । विस्तारै कोरोना प्रभाव कम हुँदै जाने र सुस्ताएको पर्यटन व्यवसाय उठ्न थाल्ने आशामा आफूहरुले होटल सञ्चालनमा ल्याएको पङ्गेनीले बताए ।

होटलले आफ्ना पाहुनाहरुलाई लक्षित गरेर विभिन्न सुविधायुक्त कोठा, टेरेस लगायतका विभिन्न रेस्टुरेन्ट, बैङ्क्वेट र सेमिनार हल, स्विमिङ पुल, जिम हल जस्ता सुविधा छन् । होटल स्थापन गर्न नबिल बैङ्कले फाइनान्स गरेको छ ।

सेयरधनी तथा बैङ्क लगानीसमेत गरी हालसम्म २ अर्ब लगानी भइसकेको र निर्धारित योजनाअनुसार यसलाई बिस्तार गर्दा करिब ३ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । होटलको पछाडि पट्टि जग्गा किनेर विस्तार गर्ने सोचमा होटल छ ।

यता कोरोनाकै बीच लस्ट होराइजन पोखरामा बनिरहेको छ । सन् २०२० को अन्त्यदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिइए पनि होटल सञ्चालनमा ढिला हुने भएको छ । १ अर्ब ५० करोड रुपैयाँमा निर्माण भइरहेको यो होटल पाँच तारे स्तरको हो ।

५० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा २ वटा प्रेसिडेन्सियल स्विट रुमसहित ३८ वटा रुम, २ वटा प्राइभेट स्विमिङ पुलसहित ४ वटा स्विमिङ पुल छन् । पछिल्लो होटलहरु व्यवसाय फस्टाउने आशामा उठ्न थालेका छन् ।

कोरोनाकै बीच उद्योग विभागमा दर्ता भए १ अर्ब २५ करोड लगानीका होटल

कोरोनाकै बीच सानाठूला होटल गरी उद्योग विभागका १ अर्ब २५ करोड रुपैयाँ लगानीका होटल उद्योग विभागमा दर्ता भएका छन् । दर्ता भएका उद्योग धेरैजसो काठमाडौँ केन्द्रित छन् ।

होटल क्यान्टन काठमाडौँ महानगरपालिका वडा नं. २ मा ५ करोड लगानीमा बन्ने छ । यसले जेठ २७ गते उद्योग विभागबाट स्वीकृति लिएको हो ।

यता काठमाडौँमै होटल क्यामोलोङमा प्रालि ५ करोड रुपैयाँ लगानीमा बन्ने छ । यो काठमाडाँै महानगरपालिका वडा नं. ६ मा खुल्ने कोरोनाकै बीच उद्योग विभागमा दर्ता भएको हो ।

२५ करोड लगानीमा होटल लुसोङ्सी प्रालि २५ करोड लगानीमा काठमाडौँ वडा नं. १६ मा खोल्नका लागि उद्योग विभागमा भदौ २ गते दर्ता भएको छ ।

१० करोडको लगानीमा फुटा होटल काठमाडौँ महानगरपालिका–२६ मा बन्दैछ । यसले पनि विभागबाट अनुमति पाएको छ । कास्की जिल्लामा मोलिह्वाकाई रेस्टुरेन्ट ५ करोड लगानीमा बन्न अनुमति पाएको हो ।

युयाङलोउ रेस्टुरेन्ट प्रालि १५ करोडमा लगानीमा बन्नका लागि दर्ता भएको छ । यो पनि काठमाडौँकै लागि दर्ता भएको हो ।

वाङ चेन होटल एन्ड रेस्टुरेन्ट प्रालि २५ करोड लगानीमा काठमाडौँ महानगरपालिका–२४ मा बन्दैछ । यो असोज १९ गते विभागमा दर्ता भएको हो ।

युहाइबो होटल एन्ड रेस्टुरेन्ट २५ करोड लगानीमा बन्दैछ । कअन चेङ्ग होटल विथ रेस्टुरेन्ट १५ करोड लगानीमा बन्नेछ

अझै २३.७६ प्रतिशत होटल सञ्चालनमा आएनन्

कोरोना महामारीले सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्र विस्तारै उठ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कको अध्ययनले २३.७६ प्रतिशत होटल अझै खुल्न नसकेको देखाएको छ । हाल ४६.५३ प्रतिशत आंशिक सञ्चालनमा छन् भने २९.७० प्रतिशत होटल पूर्ण सञ्चालनमा छन् ।

विस्तारै खुल्न थालेका होटलले १८.११ प्रतिशत उत्पादन गर्न थालेका छन् । होटलको तलब, ज्याला खर्च पनि विस्तारै कोभिडका अगाडिको तुलनामा वृद्धि हुन थालेको राष्ट्र बैङ्कले गरेको अध्ययनले देखाएको छ । होटलको औसत ज्याला तथा तलब खर्च ५६.३५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय