रामकृष्ण कंडेल,वामीटक्सार
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडानं ७ स्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा गठन गरिएको स्काउट २०८२ को दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयमा अध्ययनरत स्काउट सदस्यहरूलाई औपचारिक रूपमा दीक्षित गर्ने उद्देश्यले आयोजित उक्त समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको कार्यक्रमको जानकारी विद्यालयका शिक्षक तथा स्काउट नायक सम्झना कंडेलले युनिक खबरलाई दिनुभएको छ।
दीक्षान्त समारोहमा विद्यालयका प्रधानाध्यापक देबिराम शर्माले स्काउट आन्दोलनले विद्यार्थीहरूको व्यक्तित्व विकास,अनुशासन,नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्व बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्काउटमार्फत विद्यार्थीहरू समाजप्रति जिम्मेवार नागरिक बन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्काउटका उद्देश्य,सिद्धान्त तथा जिम्मेवारीबारे जानकारी गराउँदै नवदीक्षित स्काउट सदस्यहरूलाई समाज सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा राष्ट्रिय भावनाका साथ कार्य गर्न प्रेरित गरिएको थियो। दीक्षान्त समारोहका क्रममा स्काउट प्रतिज्ञा वाचन गरिनुका साथै विभिन्न प्रेरणादायी सन्देशहरू समेत प्रस्तुत गरिएको थियो।
शिक्षक रामप्रसाद आचार्यका अनुसार विद्यालयमा स्काउट गतिविधि सञ्चालनले विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्यको भावना र नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्नेछ।आगामी दिनमा स्काउटमार्फत विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो।
स्थानीय स्तरमै स्काउट अभियानलाई सशक्त बनाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउने उद्देश्यसहित सम्पन्न उक्त दीक्षान्त समारोहलाई सहभागीहरूले सफल र उपलब्धिमूलक कार्यक्रमको रूपमा मूल्यांकन गरेका छन।
कार्यक्रमको अध्यक्षता शिक्षक सम्झना कंडेल,प्रमुख आतिथ्यता प्रधानाध्यापक देबिराम शर्माले गर्नुभएको थियो साथै सन्चालन स्काऊट शिक्षक रामप्रसाद आचार्यले गर्नुभएको थियो।कार्यक्रममा शिक्षक बुध्द पान्डेको बिशेष उपस्थिती रहेको थियो।


