मुसिकोटमा लक्षित वर्ग उत्थानका लागि नगरस्तरीय सञ्जाल गठन 

मुसिकोटमा लक्षित वर्ग उत्थानका लागि नगरस्तरीय सञ्जाल गठन

रामकृष्ण कंडेल

गुल्मी,मुसिकोट नगरपालिकाले विशेष रूपमा उत्थानका लागि लक्षित वर्ग समुदायलाई संगठित,सशक्त र संस्थागत गर्ने उद्देश्य सहित नगरस्तरीय क्षेत्रगत सञ्जाल गठन तथा परिचालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नगरप्रमुख जिवलाल खरेल जीवनले समावेशी विकास बिना स्थानीय तहको दिगो विकास सम्भव नहुने उल्लेख गर्नुभयो।उहाँले लक्षित वर्ग समुदायलाई नीति निर्माण,योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रियामा प्रभावकारी रूपमा जोड्न सञ्जाल महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो। सञ्जाल मार्फत समुदायका समस्या,आवश्यकता र प्राथमिकताहरू पहिचान गरी नगरपालिका संग समन्वय गर्दै समाधानतर्फ अघि बढ्ने विश्वास नगरप्रमुख खरेलले व्यक्त गर्नुभयो।

नगरपालिकाका प्रशासनिक अधिकृत मोहन अर्यालका अनुसार महिला,दलित तथा जनजाति आदिवासी अल्पसंख्यक समुदायको पहुँच, सहभागिता र नेतृत्व विकासलाई मजबुत बनाउने लक्ष्यसहित सञ्जाल गठन गरिएको हो ।

केहिदिन पहिले मुसिकोट नगरपालिकाको कार्यपालिका बैठकले लक्षित वर्ग सञ्जाल समन्वयका लागि दलित तर्फ मुमबहादुर परियार, जनजाति तर्फ लोकप्रसाद छन्तेल र महिला तर्फ साबित्रा बिष्टलाई संयोजक तोक्ने निर्णय गरेको थियो ।

नगरस्तरीय क्षेत्रगत सञ्जाल अन्तर्गत महिला सञ्जालतर्फ सत्या कुमारी जी.सी.को अध्यक्षतामा १५ सदस्यीय महिला सन्जाल गठन गरिएको छ।सचिबमा बालकुमारी राकसकोटी र कोषाध्यक्षमा कल्पना भन्डारी चयन भएको समाचार युनिक खवर लाई प्राप्त भएको छ।नगर प्रबक्ता हरिहर सापकोटाले युनिक खवर लाई बताए अनुसार दलित सञ्जालतर्फ चाम बहादुर बी.क.को संयोजकत्वमा १५ सदस्यीय तथा जनजाति, आदिवासी र अल्पसंख्यक सञ्जालतर्फ हेम बहादुर वलामीको संयोजकत्वमा १५ सदस्यीय सञ्जाल गठन गरिएको छ।

कार्यक्रममा महिला,दलित तथा जनजाति समुदायका अधिकार,अवसर,समावेशी विकास र स्थानीय शासन प्रणालीमा सञ्जालको भूमिकाबारे अभिमुखीकरण गरिनुका साथै सहभागीहरूबीच छलफलसमेत गरिएको थियो।

नगरप्रमुख जिवलाल खरेल जीवनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रबक्ता हरिहर सापकोटा,वडानं ६ का वडाध्यक्ष खडक बहादुर खड्का,कार्यपालिका सदस्यहरू,जनप्रतिनिधिहरू पुर्ब उपप्रमुख कमला शर्मा,युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल,नगर खेलकुद बिकास समिति अध्यक्ष सन्दिप खत्री,मुसिकोट नगरपालिका अन्तर्गतका बिभिन्न शाखाका प्रमुखहरू लगायतको बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा मुसिकोट नगरपालिकाका सबै वडाबाट लक्षित वर्ग समुदायका अगुवा तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। नगरप्रमुख खरेलले नवगठित सम्पूर्ण सञ्जालका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै लक्षित वर्ग समुदायको सशक्तीकरण र सामाजिक न्यायको प्रत्याभूतिमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय