जेन जेड्द्वारा मुसिकोटमा लगाइएको ताल्चा खुल्यो, आइतबारदेखि सेवा सुरु हुने

भदौ, २८ शनिवार

मुसिकोट मुसिकोट 

गुल्मीको मुसिकोट नगरपालिकामा विभिन्न माग राख्दै जेन जेड समुहद्वारा लगाइएको ताल्चा शुक्रबार खोलिएको छ ।

गत भाद्र २४ गते जेनजेड समुहले वामीटक्सारको जीपपार्कदेखि बिच बजार हुँदै नगरपालिकाको कार्यालयसम्म बिभिन्न किसिमका मागसहितका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । आन्दोलित समुह नगरपालिकाको प्रवेशद्वारसम्म पुग्दा कार्यरत कर्मचारीले आफुहरुलाइ असुरक्षित महसुस गर्दै प्ररवेशद्वारमै भित्रबाट ताल्चा लगाएको देखेपछि आन्दोलनरत पक्ष झन उग्र बनेको थियो ।

प्रवेशद्वारमा पुगेको आन्दोलनरत पक्षले सङ्गै रहेको प्रहरीलाइ प्रवेशद्वार खोलिदिन आग्रह गरेपनि प्रहरीले नमानेपछि प्रवेशद्वारको ढोकामा लगाइएको ताल्चा तोडेर भीड नगरपालिकातर्फ अगाडि बढेको थियो । त्यहाँ पुग्दा कार्यालयको मुल ढोका लगाएर कर्मचारीहरु भित्र देखेपछि भीडले स्थानिय सरकारविरुद्द नाराबाजी गर्दै ताल्चा खोल्न प्रहरी र कर्मचारीलाइ आग्रह गरेको थियो ।

देशभर तोडफोड र आगजनीका घटना भैरहेका बेला त्यहाँका कर्मचारीले आफुहरुलाइ असुरक्षा महसुस भएर दुइवटै ढोका लगाइएको प्रशासकीय अधिकृत चेतनाथ गैरीले गुनासो गर्नुभएको थियो ।

आफुले भनेको समयमा मुल ढोका खोलेर आफुहरुसङ्ग संवादमा आउन नमानेको भन्दै आक्रोशित समुहले नगरपरिसरमा रहेका टायर बालेर आगोको मुस्लोसङ्गै नाराबाजी गरेपनि संयमित पक्षले थप दुर्घटना हुनबाट जोगाएका थिए ।

केहिसमयपछिको संवादपछि नगरपालिकाको मुल ढोका खोलेर प्रशासकीय अधिकृत प्रत्यक्ष संवादमा आउन तयार भएपछि भीड केहि शान्त बनेर आफ्नो ज्ञापन पत्र बुझाएर जनप्रतिनिधिसङ्ग वार्तामा बस्न चाहेको भन्दै मुल ढोकामा ताल्चा लगाएर चाबी कब्जामा लिएको थियो ।

मङ्गलबार ताल्चा लगाएपछि बुधबार , बिहिबार र शुक्रबार अबेरसम्म कर्मचारी नगर परिसरमा आन्दोलनका बेला भएको फोहोरलाइ सरसफाइ गरेर दिन बिताएको कार्यरत कर्मचारीले बताएका छन । नगरको भवनमै ताल्चा लागेपछि सेवाग्राहिले सास्ती भोग्नुपरेको थियो ।

शुक्रबार भने नागरिकको समस्यालाइ मध्यनजर गर्दै नगरप्रमुख लगायतका जनप्रतिनिधीसङ्ग एक हप्ताभित्र संवादको वातावरण तय गर्ने सहमति भएपछि प्रहरी, कार्यपालिका सदस्यका प्रतिनिधि, सन्चार माध्यमका प्रतिनिधि, जेनजेड समुहका प्रतिनिधि र कर्मचारीको उपस्थितिमा कार्यालयको ताल्चा खोलेर सहजिकरण गर्ने निर्णय गरिएको समुहका सदस्य महेन्द्र केसीले जानकारी दिनुभयो ।

आन्दोलनको समयमा कार्यालय परिसरमा भएको क्षतिको प्रहरीले मुचुल्का तयार गरिसकेको छ भने जेनजेड समुहको आन्दोलन भनिएपनि अन्य उमेर समुहका व्याक्ति र राजनितिक ओहोदाका मानिसको सकृयता रहेको पनि आन्दोलनरत समुहका केहि सदस्यले गुनासो गरेका छन ।

ताल्चा खुलेपछि आइतबारदेखि नियमित कार्य सन्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय