गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले समुद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खरेलले महोत्सवले स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनसंगै नगरपालिका भित्र रहेका विभिन्न कला संस्कृतीको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले महोत्सव सिक्ने र सिकाउने थलो समेत रहेको भन्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फरक प्रसंगमा नगरप्रमुख खरेलले आगामी वर्ष नगरपालिकाले प्राविधिक र व्यवसायिक सीप हस्तान्तरण तथा रोजगारी सिर्जना गर्ने गरी रोजगार सम्मेलन गर्ने तयारी गरेको समेत बताउनुभयो ।
पौष २१ गतेसम्म चल्ने महोत्सवको समुद्घाटन अगाडी वामी जीपपार्क, बसपार्क हुँदै टारसम्म विभिन्न झाँकीहरु सहित बजार परिक्रममा गरिएको थियो । महोत्सवको पहिलो दिन वडा नं ४ को सरायँ नाच, वडा नं ७ का नेवार समुदायको लाखे नाँच, संस्कार जागरण अभियानको भजन कृतन प्रस्तुत गरिएको थियो ।
महोत्सवमा जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामग्रीहरूको प्रदर्शनी, कृषि प्रर्दशनी, शैक्षिक प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगीता सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
महोत्सवमा विभिन्न औधोगिक क्षेत्रबाट उत्पादित सामग्री सँगसँगै गुल्मी जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकार, विविध संस्कृति झल्कने झाँकी पनि प्रर्दशन गरिने छ ।
‘कृषि, पर्यटन, जलस्रोत उद्योग र व्यापार, मुसिकोटको समृद्धिको आधार’ भन्ने नारा तय गरेर महोत्सवबाट गुल्मीको कृषि, घरेलु औधोगिकसँगै पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन र प्रचार प्रसार हुने मुसिकोट उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष ज्ञानहरि सापकोटाले बताउनुभयो ।
समुद्घाटन समारोहमा मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत चेतनाथ गिरी, पूर्व नगरप्रमुख सोमनाथ सापकोटा, जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा भण्डारी, नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले, नेपाली काँग्रेस पार्टी सभापति झविलाल भण्डारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलको अध्यक्षता रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानहरी सापकोटाको स्वागत मन्तव्य एवम् महासचिव सुन्दर प्रधान र प्रचार प्रसार समिति संयोजक बसन्त अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
महोत्सवको दोश्रो दिन भोलि खुल्ला पुरुष भलिबल प्रतियोगीताको उद्घाटन, मुसिकोट गायन आईडलको शुभारम्भ, परम्परागत सोरठी नृत्य लगायत राष्ट्रिय कलाकारहरु श्याम राना, सुनितामी परियार, शुशिला गौतम, उज्जवल गिरी, सिमा थापा लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने खेलकुद संयोजक लक्ष्मण फुल्लेलले जानकारी दिनुभयो ।