उच्च अदालतको फैसलाले लाग्यो बालेनलाई धक्का

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउन नमिल्ने फैसला अदालतले सुनाएको छ । आज उच्च अदालत पाटनले सो फैसला सुनाएको हो ।

हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले कल्याणी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ६१४ को जग्गा र प्रभात चापागाईँको नाममा भएको कित्ता नम्बर ७०७ मा भएको जग्गामा बनेको सो भवन नभत्काउने फैसला गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत भवन बनेको भन्दै डोजर लगाएर भत्काउने तयारी गरेको थियो । त्यसका विरुद्ध राप्रपाले अदालतमा मुद्दा हालेको थियो । अदालतले भदाैकाे पहिलाे साता भवन नभत्काउन अन्तरिम आदेश गरेकाे थियाे ।

गत साउनमा काठमाडौंका मेयर बालेन्द्र साहले हाइटेन्सन तारमुनि बनेको राप्रपाको भवन भत्काउन आदेश दिएका थिए । नगर प्रहरी डोजर लिएर राप्रपा भवननजिक पुगे पनि यत्तिकै फर्किएको थियो ।

यो भवन दाताले दिएको करिब ८ आना जग्गामा बनेको हो । जग्गा दान दिए पनि राप्रपाको नाममा छैन । राप्रपाले कार्यकर्ताहरूबाट चन्दा संकलन गरेको भवन निर्माण गरेको हो । दुई तल्ले घरको छतबाट १०–१२ फिट माथि हाइटेन्सन लाइन छ ।

पार्टीकै नेता दिल विकास राजभण्डारीले दान दिएको जग्गामा राप्रपाले (तत्कालीन राप्रपा नेपाल) २०६९ सालमा यो घर निर्माण गरेको थियो । तर, अहिलेसम्म यो जग्गा राप्रपाको नाममा नामसारी भएको छैन भने घरको नक्सा पास पनि हुन नसकेको छैन । मापदण्ड विपरीत भएका कारण महानगरले नक्सा पास रोकेको हो ।- नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय