बागलुङ उद्योग वाणिज्य संघले महोत्सव गरेको एक वर्षपछि हिसाब किताब सार्वजनिक गरेको छ ।
उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा गत वर्षको पुसमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवको हिसाब किताब सार्वजनिक गरेको हो ।
उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष र कोषाध्यक्षले हस्ताक्षर गरी प्रेस विज्ञप्ती मार्फत हिसाब सार्वजनिक गरिएको हो ।
गतवर्ष पुस ११ देखि २१ गतेसम्म उद्योग वाणिज्य संघले महोत्सव गरेको थियो । संघले जारी गरेको विज्ञप्तीमा एक करोड १६ लाख ६९ हजार ३ सय ९५ रुपैयाँ कुल आम्दानी गरेका उल्लेख गरिएको छ । आम्दानीमध्ये ९४ लाख २२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको छ । महोत्सवमा २२ लाख ४६ हजार आठ सय २२ रुपैयाँ बचत भएको छ ।
उक्त रकमबाट उद्योग वाणिज्य संघले चार वटा कोषमा रकम जम्मा गरेको छ । आर्थिक विषयमा खोज मुलक पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गर्नका लागि दुइ लाख २२ हजार दुई सय २२ रुपैयाँको उद्योग वाणिज्य संघ बागलुङ आर्थिक पत्रकारिता कोष स्थापना गरिएको छ ।
धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति सहयोगका लागि ५ लाखको अक्षयकोष स्थापना, ५ लाख रुपैयाँको व्यवसायी उद्यमी कल्याणकारी कोष तथा उद्योग वाणिज्य संघको मूल अक्षय कोषमा ४ लाख रुपैयाँ राखिएको जनाईएको छ ।
महोत्सव भएको एक वर्ष बित्दा पनि एक लाख ७५ हजार रुपैयाँको अझै उठ्न बाँकी छ ।