वडाध्यक्ष केसी धरौटीमा रिहा

फरार वडाध्यक्ष केसी अदालतमा हाजिर भई धरौटीमा रिहा
बागलुङ : दोहोरो नागरिकताको केशमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका वडाध्यक्ष अदालतमा हाँजिर भई धरौटीमा छुटेका छन् ।

दोहोरो नागरिकताका लागि सिफारिस दिएका बागलुङ नगरपालिका—४ का वडाध्यक्ष ध्रुबबहादुर केसी अदालतले पक्राउ पुर्जी जारी गरे लगत्तै फरार भएका थिए ।

करिब डेढ महिना यता फरार केसी मंगलबार जिल्ला अदालत बागलुङमा हाँजिर भई धरौटीमा छुटेका हुन् ।

जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीका अनुसार वडाध्यक्ष केसीले अदालतमा १० हजार धरौटी तिरेर रिहा भएका हुन् । छुट्टा छुट्टै नामबाट दुई वटा नागरिकता लिएको भेटिएपछि पक्राउ परेका बानपा—६ पंकज सापकोटालाई दोस्रो नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा अदालतले केसीलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

सबै प्रक्रिया पु-याएर ल्याएपछि आफुले सिफारिस दिएको र पंकजको बारेमा आफुलाई थाहा नभएकाले फसाउन खोजिकएको बताउँदै आएका केसी अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन देखि फरार भएका थिए । गलत विवरण पेश गरी नागरिकता लिएका पंकज पक्राउ परेपछि उनलाई नागरिकता लिन सिफारिस गर्ने र सहयोग गर्ने पाँच जनालाई पक्राउ गर्न जिल्ला अदालत बागलुङले पक्राउ पुर्जी जारी गरेको थियो ।

दोहोरो नागरिकता मुद्दामा पक्राउ परेका पंकज सहित तत्कालिन बानपा—४ का वडा सचिव र पंकजको साक्षी बसेका युवा यस अघि नै धरौटीमा रिहा भएका छन् । सापकोटाले वैदेशिक रोजगारीमा जानका लागि अर्कैलाई बा—आमा बनाएर नागरिकता निकाले बयान दिएका छन् ।

दोहोरो नागरिकता मुद्दामा अदालतले तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र नागरिकता फाँटका नासु विष्णुप्रसाद शर्मालाई पनि अदालतमा हाँजिर हुन आदेश दिएको छ ।

उनीहरुले कागजपत्र राम्रोसंग चेकजाँच नगरी नागरिकता दिएको आरोमा बयानका लागि अदालतले बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय