निसीखोला गाउँपालिका विकास क्रम तिब्र गतिमा

छविलाल पाण्डे, बुर्तिबाङ

निसीखोला गाउँपालिकाले भौतिक पूर्वाधारमा फड्को मार्दै गएको छ । गत वर्ष पालिकाले भवन टहरो निर्माण गरेर सेवा सुचारु गरेको थियो भने यस बर्ष देढ करोड लागतमा पक्की भवन निर्माण भइरहेको छ ।

प्रदेश सरकार र गाउँपालिकाको बजेटमा निर्माण हुँदै गरेको भवन एक सभाहल सहित ७ कोठाको बन्ने भएको गाउँपालिकाले जनाएको छ । आगमी फाल्गुन महिनासम्म निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम अगाडी बढाइरहेको छ ।

गण्डकी प्रदेश सरकारको एक करोड र निसीखोला गाउँपालिकाको पचास लाख गरी डेढ करोड लागतमा भवन निमार्ण हुन थालेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाले थप सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष पौडेलले बताए । भवन निर्माणका लागि जग्गादाताले निशुल्क जग्गा उपलब्ध बनाएपछि गाउँपालिकाको भवन निर्माण भइरहेको हो ।

सबै वडामा कार्यलय भवन निर्माण हुँदै : त्यसैगरी पालिकाले सबै वडामा वडा कार्यालयको भवन निर्माण गर्न थालेको छ । नागरीकलाई सहज सेवा दिने गरी भवन अभाव रहेका वडामा कार्यालयको भवन निर्माण प्रकृया अगाडी बढाएको बताइएको छ ।

वडा नम्बर १ मा साविक गाविस भवनबाट सेवा दिइएको छ । उक्त भवन पहिल्यै रहेका कारण वडा नम्बर १ ले आफनै भवनबाट सेवा दिएको वडा अध्यक्ष इन्द्र मल्लले बताए । वडा नम्बर २ को भवन निर्माण सम्पन्न भएको छ ।

गत वर्ष निर्माण भएको वडा कार्यालय निर्माण अन्तिम चरणमा रहेका कारण केहि समयमै आफ्नै भवनबाट सेवा प्रवाह गरीने वडा अध्यक्ष कुविर विश्वकर्माले बताए । हालसम्म उक्त वडा भाडाको घरमा रहेको छ ।

वडा नम्बर ३ र ४ साविकको गाविस भवनबाट सेवा दिइरहेको अवस्थामा वडा नम्बर ३ मा संघ सरकार मार्फत वडा कार्यालय निर्माणको तयारीमा रहेको जनाइएको छ ।

त्यसैगरी वडा नम्बर ४ को भवन निर्माणका निम्ती जग्गा व्यवस्थापन प्रकृया अगाडी बढेका कारण यस आर्थिक वर्षमा निर्माण सु्रु हुने गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

वडा नम्बर ५ ले व्यक्तिको घर भाडामा लिएर सेवा दिएको अवस्थामा हाल भवन निर्माण सम्पन्न भइसकेपछि आफ्नै भवनदेखि सेवा दिइरहेका छ । विगत तीन महिनादेखि आफनै भवनदेखि सेवा सुचारु भइरहेको वडा अध्यक्ष हर्कमान घर्ती मगरको भनाइ छ ।

वडा नम्बर ६ हालसम्म भाडाको घरमा छ भने वडा नम्बर ७ ले साविकको गाविस भवनदेखि सेवा दिइएको वडा अध्यक्ष नहकुल कुवँरले बताए ।

स्वास्थ्य क्षेत्र पनि सुधार : स्वास्थ्य क्षेत्रमा समेत फड्को मार्दै गइरहेको गाउँपालिकाले एक वडा एक स्वास्थ्य चौकी कार्यक्रमलाई अगाडी बढाएको छ ।

जस अन्र्तगत वडा नम्बर १ देविस्थानमा सुविधा सम्पन्न देविस्थान स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइसकेको छ । उक्त भवनबाट सेवा प्रवाह नभए पनि निर्माण चरण सम्पन्न भइसकेको वडा अध्यक्ष इन्द्र मल्लको भनाई छ ।

वडा नम्बर ३ मा बोहोरागाउँ स्वास्थ्य चौकीबाट सेवा दिइएको छ । वडा नम्बर ५ मा जग्गा व्यवस्थापन भइरहेको छ भने वडा नम्बर ६ र ७ मा भवन निर्माणको काम अन्तिम चरणमा रहेका कारण ठेकेदार कम्पनीले चाँडै हस्तान्त्रण गर्ने तयारी रहेको बताइएको छ ।

गाउँपालिकाको वडा नम्बर २ र ४ मा वडा स्तरको स्वास्थ्य चौकी निर्माण हुन बाँकी रहेको छ । १५ शैयाको पालिका स्तरीय अस्पताल निर्माणका निम्ति संघ सरकार मार्फत कार्यक्रम ल्याइएकोमा यस वर्षदेखि वडा नम्बर ४ मा अस्पताल निर्माण सुरु हुने छ ।

जसका लागि गत मंसिर महिनामा शिलान्यास समेत गरी सकिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।
जनताको महत्वपूर्ण आवश्यकताको रुपमा रहेको स्वास्थ्य, शिक्षा, यातायात जस्ता विकासका पूर्वाधारले निसीखोला गाउँपालिकामा गति लिइरहेको प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताए ।

आर्थिक वर्ष २०७७/७८ का विकास योजना र कार्यक्रमलाई सम्झौता र निर्माण चरणमा अगाडी बढेको गाउँपालिकाले विकासका विभिन्न सुचाकांकलाई समेटेर काम गरीरहेको बताइउको छ ।

गत वर्ष कोभिड–१९ का कारण प्रदेश र स्थानीय पालिकाको साझेदारीमा निर्माण रोकिएका ७ झोलुङगे पुल समेत यस आर्थिक वर्षमा सम्पन्न हुने गरी काम भइरहेको शाक्यको भनाई छ ।

गाउँ जोड्न झलुङ्गे पुल : गत वर्ष प्रदेश सरकार र निसीखोला गाउँपाकिलाको साझेदारीमा बन्न लागेका ७ झलुङगे पुल मध्य हाल निसीखोला ५ र ६ मा गरी ३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । अन्य चार वटा पुलको निर्माण कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ ।

जसमध्ये निसीखोला १ र ढोरपाटन नगरपालिका २ जोड्ने माडेघाट पुल, वडा नम्बर ७ कुतखोला घाट पुल, वडा नम्बर २ ढुवाँखोर र धौलेघाट पुल गरी ४ पुलको यस आर्थिक बर्षमा ठेकेदार कम्पनीले निर्माणलाई अगाडी बढाएका हुन् ।

पालिकामा दुई वटा पुराना झलुङ्गे पुल जिर्ण रहेका कारण त्यसको व्यवस्थापनका निम्ति कार्यक्रम अगाडी बढाइने पालिका अध्यक्ष पौडेलको भनाई छ ।

मध्यपहाडी लोकमार्गले वडा नम्बर १ देखि ६ नम्वर वडासम्म छोएको गाउँपालिकाको ग्रामीण क्षेत्रका सडकलाई समेत प्राथमिकतामा राखेर पालिका र प्रदेश सरकार मार्फत कार्यक्रम अगाडी बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय