इजरायलबाट दाइसँग भिडिओ कल गर्दागर्दै कहाँ हराए विपिन ?

पाँच दिनदेखि आँखा ओभाएका छैनन्। खाना मुखमा हालेकै छैनन्। घरमा कोही आउनेबित्तिकै रुँदै छोराबारे सोध्छिन्। भीमदत्त नगरपालिका–३ भाँसीस्थित पद्‌मा जोशीको घरमा मानिसको भीडभाड छ। घरमा रुवाबासी चलेको छ। छोरा कस्तो होला, के गर्दै होला भन्दै बर्बराइरहन्छिन् पद्‌मा जोशी। वरपरका छिमेकी, इष्टमित्रले उनलाई सम्हालिरहेका छन्। छोरोको राम्रो खबर आउने आशा दिइरहेका छन्।

इजरायलमा रहेका छोरा विपिन गएको शनिबारदेखि सम्पर्कविहीन छन्। छोरा सम्पर्कमा आउने आशमा कुरिरहेकी छन्, पद्‌मा। छोरासँग सम्पर्क नहुँदा उनी गलिसकेकी छन्। ‘छोरासँग सम्पर्क नभएको ५ दिन भइसक्यो, ऊ कस्तो छ? केही थाहा छैन’, पद्‌माले भनिन्, ‘चाँडोभन्दा चाँडो छोरालाई खोजेर घर ल्याउनुपर्‍यो।’इजरायलमा प्यालिस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेका विपिनको अवस्था अज्ञात छ। सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए।

विपिनसँगै गएका अन्य १० नेपाली विद्यार्थीले भने हमासको हमलामा ज्यान गुमाइसकेका छन्। अन्य विद्यार्थी इजरायलमै सुरक्षित स्थानमा बसेर उद्धारको पर्खाइमा छन्। तर विपिनको कुनै अत्तोपत्तो चलेको छैन। दूतावास, विश्वविद्यालय, इजरायलमा रहेका विपिनका साथीहरूसँग परिवार निरन्तर सम्पर्कमा छ। विपिनका काका छोरा दाइ किशोर जोशीले इजरायलबाट सार्वजनिक हुने नेपालीको भिडिओहरू हेर्न छुटाएका छैनन्। कतै विपिन देखिन्छ कि भन्ने आशमा भिडिओ हेरिरहन्छ। कोही विपिनलाई आतंककारीले लगेको भन्छन्। कोही केही।

विदेशमा रहेको सन्तानको आधिकारिक जानकारी नपाउँदा परिवार चिन्तित छ। कैलालीका हिमाञ्चल कट्टेलले विपिनलाई हमासले अपहरण गरेर लगेको भनेर म्यासेज गरेका थिए।कट्टेलका अनुसार आतंककारीले गोला बर्साउँदा विपिन साथीभाइसँगै थिए। पहिलोपटक बमको गोला आउँदा विपिनले समातेर बंकरभन्दा बाहिर फालेका थिए। दोस्रो पटकको गोला बंकरमै विस्फोट भएको थियो। त्यसपछि हमासले विपिनलाई अपहरण गरेर लगेको कट्टेलले म्यासेज गरेका छन्। विपिनका बारेमा अहिलेसम्म कुनै जानकारी नआएको उनका दाइ किशोरले बताए।

विपिनले शुक्रबार आमा पदमासँग कुराकानी गरेका थिए। शनिबार १२ बजेतिर दाइ किशोरसँग पनि भिडिओ कल गरेका थिए। ‘खाना खाँदै छु, आक्रमण हुनसक्ने भएकाले बंकरमा लुक्न सूचना जारी भइरहेको छ भनेर भाइले भन्दै थियो,” उनी भन्छन्, ‘त्यसपछि कुरा भएको छैन, यताउता फोन गरेका गर्‍यैछौँ, केही पत्तो चलेको छैन।’ विपिनको परिवारले चाँडो खोजी गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ। विपिन परिवारका एक्ला छोरा हुन। विपिनकी एक बहिनी छिन्। विपिनका आमाबुवा शिक्षण पेसामा छन्।

उनीहरू बैतडीको रिमबाट केही वर्षअघि भाँसीमा बसाइँ सरेका हुन्। आमा पदमा वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन्। बुवा मानदेव बझाङमा शिक्षण गर्छन्। आमा पद्‌मा र बहिनी पुष्पा मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन्। छोरा सम्पर्कविहीन भएपछि बुवा मानदेव पनि अहिले भाँसी घरमा आइपुगेका छन्। नेपाल खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय