चाडपर्व नजिकिँदै गर्दा बडिगाड गाउँपालिकाले थाल्यो बजार अनुगमन

गुल्मी । नेपालीहरुको महत्वपूणर् चाडपर्वहरु दशै तिहार नजिकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट बँचाउन बागलुङको बडिगाड गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ ।

गाउँपालिकाले सोमबार मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने पालिकाका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनुगमन गरेको छ । वडा नं ५ को खौलार बजार र वडा नं २ को खर्बाङ बजारमा रहेका पसल व्यवसायहरुको अनुगमन गरिएको हो ।

चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले यसलाई न्यूनिकरण गर्न र व्यापारी तथा उपभोक्तालाई सचेत बनाउन बजार अनुगमन थालिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले खाद्यान्न, इन्धन, लत्ताकपडा, औषधी पसल, माछा मासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । झण्डै ८० वटा पसलमा गरिएको अनुगमनका क्रममा अधिकांश खाद्यान्न पसलहरुमा म्याद गुज्रेको सामाग्रीहरु फेला परेको भण्डारीले बताउनुभयो । त्यस्तै मुल्यसूची नराखेको, पसल दर्ता/ नविकरण नगरी सञ्चालन गरेको, साईनबोर्ड नभएको लगायतका समस्याहरु भेटिएको उहाँको भनाई छ ।

बजार अनुगमनका क्रममा भेटिएका कमजोरीहरुलाई पहिलो पटक सुझाव दिईएको र अर्को पटकको अनुगमनका क्रममा पनि सोही कमजोरी भेटिए जरिवाना असुल्ने गाउँपालिकाले जनाएको छ । अनुगमनमा भेटिएका म्याद गुज्रेका सामाग्रीहरु व्यापारीले १ हप्ता भित्र फिर्ता गर्नका लागि जफत नगरिएको र पुन : १ हप्तामा नगरप्रहरी सहितको टोलीले उक्त सामाग्रीको अनुगमन गर्दा पनि सोही अवस्थामा भेटिए कारबाही सहित म्याद गुज्रेका सामाग्री जफत गरिने गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताउनुभयो ।

गाउँपालिकाले मुख्य बजार क्षेत्र संगै पालिकाका विभिन्न ग्रामिण क्षेत्रमा रहेका पसल व्यवसायहरुको पनि निरन्तर अनुगमन गर्दै जाने भएको छ । बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको भन्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरहीन वस्तु विक्री वितरण गरी उपोभोक्ता ठग्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याउन र चाडपर्वमा पालिकाबासीहरु नठगिउन भन्नका लागि बजार अनुगमन सुरु गरिएको बताउनुभयो ।

गाउँपालिकाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको बजार अनुगमन निर्देशिकालाई आधार मानेर अनुगमन गरेको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्य सहित अनुगमन सुरु गरिएको भन्दै गाउँपालिकाले अनुगमनका क्रममा व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह समेत गरेको छ ।

अनुगमनमा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी सहित कर्मचारीहरु र नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय