टोपलाल अर्याल/गुल्मी । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान गुल्मीमा सुरु भएको छ । अभियान अन्तरगत दुई महिनासम्म बस्ती स्तरसम्म पुगेर पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने योजना रहेको छ ।
अभियानका लागि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले प्रतिनिधी छनौट र भुगोल अनुसार कार्यविभाजन गरेको नेकपा एमाले गुल्मीका कार्यालय सचिव गणेश श्रेष्टले जानकारी दिए । यो अभियानमा केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रका ३ सय ५३ जना नेताहरु खटिनेछन् । यो अभियान ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा रहेका २ करोड ९२ लाख १ हजार ४ सय ६६ जनसंख्या बीच सञ्चालन हुनेछ । जहाँ १ करोड ७६ लाख ७३ हजार १ सय ९५ मतदाता छन् ।
स्थानीय तहको निर्वाचनमा सबै पालिकामा एमालेका पार्टीका अध्यक्षका उम्मेदवारले ३८ लाख २१ हजार ६ सय २० मत प्राप्त गरेका थिए । भने गत आम निर्वाचनमा सिंगो देशबाट समानुपातिक तर्फको २८ लाख ४५ हजार ६ सय ४१ मत पार्टीले हासिल गरेको थियो । संगठन विभागको अभिलेखमा अहिले १० लाख ७९ हजार २ सय ९ पार्टी सदस्यको विवरण रहेको छ ।
यसलाई औसतमा हिसाब गर्दा १ जना केन्द्रीय नेताको जिम्मामा २ पालिका, १९ वडा, ८२ हजार ७ सय २४ जनसंख्या तथा ५० हजार ६६ मतदाता पर्छन् । एकजना केन्द्रीय सदस्यको जिम्मामा औसत ३ हजार ५७ पार्टी सदस्य पर्ने नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।
पार्टीको भूगोल, विभाग र फाँटहरूमा जिम्मेवारी तोकिएका सबै पोलिटब्युरो र केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । स्थायी कमिटीका सदस्यलाई अनुगमनको जिम्मेवारीमा खटाइएको छ । सबै केन्द्रीय सदस्यलाई हाल जिम्मा लिएको जिल्लाभन्दा फरक जिल्लामा खटाइएको छ । प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी तोकिएको श्रीपालीले जानकारी दिए ।
केन्द्रीय र जिल्ला प्रतिनिधिको उपस्थितिमा पालिका कमिटीको बैठक आयोजना गर्ने, राम्रो सम्भावना भएका युवा र सम्भावनायुक्त अन्य व्यक्तिलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने, भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने, विदेशमा रहेका सदस्यको हकमा भर्चुअल माध्यमबाट र टेलिफोनबाट सम्पर्क गरेर नवीकरण गरिने भएको छ । धेरैभन्दा धेरै टोल कमिटी गठन र पुनर्गठन गर्ने एमालेको लक्ष्य छ ।
नेकपा एमाले गुल्मीले अभियानमा खटिने सवै नेताहरुलाई पार्टी कार्यालयमा मंगलबार प्रशिक्षणसहितको कार्ययोजना दिएको छ । केन्द्रिय प्रतिनिधी पोलिट व्यूरो सदस्य ठाकुर गैरै र जिल्ला प्रतिनिधी नेकपा एमाले जिल्ला कमिटी उपसचिव धर्म विश्वकर्मासहितको टोलीले कालिगण्डकी, सत्यवति र रुरु क्षेत्र गाउँपालिकामा अभियान संचालन गर्नेछन् । त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य चन्द्र खड्का र नेकपा एमाले जिल्ला कमिटी उपसचिव सावित्रा आचार्यले रेसुंगा, धुर्कोट र मदानेमा ‘मिसन ग्रासरुट’ अभियानको जिम्मेवारी पाएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।
त्यस्तै इस्मा, मालिका र मुसिकोटमा ‘मिसन ग्रासरुट’ संचालन गर्न नेकपा एमाले केन्द्रिय कमिटी सदस्य बलराम अधिकारी र जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जिम्मेवारी पाएको काउछाले बताए । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सृजना काफ्ले र जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण सुनार चन्द्रकोट, छत्रकोट र दरवार गाउँपालिकाको जिम्मेवारीमा रहेका छन् ।