पुरानो गठबन्धन ब्युँतिन्छ, शीर्ष नेताहरू होसियारीका साथ लाग्नुभएको छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले राष्ट्रपति निर्वाचनका सन्दर्भमा पुरानो गठबन्धन ब्युँताउने कोसिस भइरहेको बताउनुभएको छ ।

नेता विश्वकर्माले असावधानीले टुटेको पुरानो गठबन्धनलाई फेरि कायम गर्न कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लागिरहेको बताउनुभयो ।

हिजोदेखि कांग्रेस र माओवादीका शीर्ष नेताहरूबीच पनि छलफल सुरु भएको बताउँदै उहाँले भन्नुभयो, ‘हामी राजनीतिलाई परिणाममुखी बनाउनका निम्ति नयाँ समीकरणको नजिक पुगेका छौं,।’

राष्ट्रपतिको निर्वाचनमा मात्र माओवादी र कांग्रेस मिलेर जाने हो वा सत्ता साझेदारी नै गर्ने हो भन्ने छलफल बाँकी भएको पनि उहाँले बताउनुभयो । विश्वकर्माले अगाडि भन्नुभयो, ‘को कति महिना, कति वर्ष प्रधानमन्त्री बन्ने वा ५ वर्ष प्रचण्डलाई प्रधानमन्त्री छोड्ने कि नछाड्ने भन्ने मुख्य कुरा होइन । हामीले चुनावमा जाँदा हाम्रो वृहत् राजनीतिक उद्देश्य छ, सानोतिनो कुरामा टुट्दैनौं भनेकै हौं । समयमै समझदारी बनाउन नसक्दा टुट्यो । त्यसैले पुरानो गठबन्धन ब्युँताउन होसियारीका साथ शीर्ष नेताहरू लागिरहनुभएको छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार प्रस्ताव गरे कांग्रेसले के गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता विश्वकर्माले प्रचण्डले कांग्रेसलाई साथमा लिएर हिँड्ने ठोकुवा गर्नुभयो ।

राष्ट्रपतिमा गैर राजनीतिक व्यक्ति उपयुक्त नहुने पनि उहाँले बताउनुभएको छ । विश्वकर्माले भन्नुभयो, ‘दलभित्रै होनहार व्यक्ति हुँदाहुँदै बाहिर किन खोज्ने ? दलीय व्यवस्थामा निर्दलीय राष्ट्रपति खोज्नु आवश्यक छैन । र, पार्टीका शीर्ष नेताहरू नै राष्ट्रपति बन्नुहुन्छ ।’ कांग्रेसले पदाधिकारी बैठक बसेर उम्मेदवार टुंग्याउने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय