टेलिकम ग्राहकका मोबाइल किन भए ‘वान-वे’ ?

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिमिल्सिनाले आफ्नो पोष्टपेड मोबाइलमा पर्याप्त ब्यालेन्स हुँदाहुँदै नेपाल टेलिकमले ब्यालेन्स काटिदिएर वान–वे बनाइदिएको गुनासो गर्दै स्टाटस लेखिन् ।

पत्रकार प्रतिमा सिलवालले पनि ५०० रुपैयाँ रिचार्ज गरेर दुई–तीनपटक पनि फोन नगर्दासमेत टेलिकमले वान–वे बनाइदिएको स्टाटस राखिन् । उनीहरुमात्र होइन, नेपाल टेलिकमका धेरै ग्राहकहरुको गुनासो यस्तै छ । बुधबार दिउँसोदेखि फोन नलाग्ने समस्याबाट पीडित भएका नेपाल टेलिकमका ग्राहकले एकाएक ब्यालेन्स काटिएको गुनासो गर्दै मोबाइलको रकम ‘गायब’ हुनुको कारणबारे जिज्ञासा राखेका छन् ।

नेपाल टेलिकमले भने हिसाब मिलानको काम भइरहेकाले यो समस्या केहीबेरमै समाधान हुने जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ‘बिल रनको काम भइरहेको छ । यो समस्या केहीबेरमा सल्भ हुन्छ ।’

किन काटियो ब्यालेन्स ? – पोष्टपेडका ग्राहकहरुबाट नेपाल टेलिकमले रेन्टल शुल्क बाफत् न्यूनतम ३८३ रुपैयाँ हरेक महिना काट्छ । काटिएको न्युनतम रकम र ग्राहकको मोबाइलमा भएको ब्यालेन्ससँग हिसाब मिलान गरिसकेपछि त्यो ३८३ रुपैयाँ पुनः फर्किन्छ । यो काम हरेक अंग्रेजी महिनाको १५ तारिखमा गरिन्छ । यो कामलाई टेलिकमको भाषामा ‘बिल रन’ भनिन्छ ।

अहिले भएको पनि त्यही हो । फरक यति मात्र हो कि अघिल्ला महिनाहरुमा यो काम राति ग्राहक सुतिरहेको समयमा सकिइसक्थ्यो । तर यसपटक बिहानसम्म पनि काम नसकिएकाले ग्राहकहरुको गुनासो सार्वजनिक भयो ।

नेपाल टेलिकमका प्रवक्ता अधिकारीले भने, ‘बिल रनको काम आज बिहानसम्म पनि नसकिएकाले ब्यालेन्स काटिएको गुनासो आयो । हिसाब मिलानको काम जारी छ, केहीबेरमै सल्भ हुन्छ ।’ उनले ग्राहकहरुको ब्यालेन्सबाट काटिएको ३८३ रुपैयाँ पुनः फर्किने पनि बताए । प्रवक्ता अधिकारीले बिलिङ सिस्टममा समस्या नभएको तर हिसाब गर्न समय लागेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय