काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त भएका हुन्।
मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्। विश्वासको मतका लागि मुख्यमन्त्री रावलले पेस गरेको प्रस्ताव नै छलफलका लागि पारित हुन नसकेपछि रावल पदमुक्त भएका हुन्।
गत पुस २७ गते बेलुका ५ बजे एमालेका संसदीय दलका नेता रावल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सहित २९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले पुस २८ गते मुख्यमन्त्रीको सपथ लिएका थिए।
रावल नेतृत्वको सरकार ढलेसँगै अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो।