कौरव खत्री, गुल्मी-बागलुङ बडिगाडको भानु माध्यमिक विद्यालयमा दिनप्रतिदिन आर्थिक सहयोग थपिदै गएको छ ।
बडिगाड गाँउपालिका ५, ग्वालिचौर टारी स्थित रहेको भानु माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं. ५ ग्वालिचौर ताहाल निवासी हाल अमेरिकीमा कर्मथलो बनाउदै आउनु भएका विद्यालयका भुतपुर्व विद्यार्थी शिक्षाप्रमी एवम् समाजसेवी महलाल तिवारीले विद्यालयको लागि कुल ११ लाख, ११ हजार, १ सय, ११ रुपैँया आर्थिक सहयोग प्रदान गर्नुभएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो।
साथै हिरक महोत्सवको अवसरमा आर्थिक संकलन अभियानबाट हालसम्म विभिन्न व्यक्तिहरुबाट हालसम्म विद्यालयमा करिब २ करोड २० लाखको चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो।
विद्यालय स्थापना भएको ६० औँ बर्ष पुरा गरेको अवसरमा “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार”भन्ने मुल नारा सहित हिजो अर्थात सोमबार देखी विद्यालयमा हिरक महोत्सव शुरू भएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो। साथै हिरक महोत्सव यहि माघ २८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।
विद्यालयमा प्राविधिक शिक्षा, छात्रावासको सुविधा, निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन, विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित हिरक महोत्सव सञ्चालन गरिएको महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो।
साथै हिरक महोत्सवका अवसरमा विद्यालयमा संस्थापक, शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पुर्याउनु हुने व्यक्ति एवं पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी, पूर्व विद्यालय व्यवस्थापान समिति,शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने र महोत्सवमा शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम,हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो।
२०१९ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १(१२ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन्।