धोकाको डरले देउवा र ओली राष्ट्रपतिको उम्मेदवार छान्न कठिन

काठमाडौं- राष्ट्रपतिको निर्वाचनअन्तर्गत उम्मेदवारी दाखिला गर्न अब २० दिन पनि बाँकी छैन । तर, अहिलेसम्म नयाँ राष्ट्रपति को होला भन्ने धेरैले अड्कलबाजीसमेत गर्न सकेका छैनन् ।

राष्ट्रपति नेपाली कांग्रेस वा एमालेकै बन्नेमा कुनै द्विविधा छैन । तर, अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार यो हो है भनेर न त शेरबहादुर देउवा वा केपी ओलीले नै निर्णय गर्न सकेका छन् ।

राष्ट्रपति चयन गर्न माओवादी केन्द्र निर्णायक भएकाले पनि देउवा र ओली अहिलेसम्म मौन देखिएका हुन् । संसदमा सबैजसो दलहरुको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा ‘राष्ट्रिय सहमतिको पात्र’ खोज्नुपर्ने बताइरहेका छन्। माओवादीले औपचारिक रूपमै यस्तो निर्णय गरिरहेको छ । आफूखुसी देउवा र ओलीले राष्ट्रपतिको उम्मेदवार उठाए प्रचण्डबाट धोका पाउने दुवैले बुझेका छन् ।

राष्ट्रपतिमा दाबी गरिरहेको नेपाली कांग्रेसले भने त्यो राष्ट्रिय सहमतिको पात्र कांग्रेसभित्र मात्रै रहेको बताइरहेको छ। कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा, गोपालमान श्रेष्ठको नाम राष्ट्रपतिका लागि चर्चामा छ । तर अहिलेसम्म यो नै भन्ने निर्णय भइसकेको छैन । प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवा राष्ट्रपति बनिदिए राष्ट्रिय सहमति हुने विश्वासमा रहेको स्रोतले बतायो ।

तर प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष केपी ओलीले भने गठबन्धनको सहमतिअनुसार राष्ट्रपतिमा एमालेकै उम्मेदवारी हुने बताइरहेका छन्। एमालेमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, गोमा देवकोटा, गुरु बराल, डोरमणि पौडेल, युवराज ज्ञवाली, विष्णु रिमालको नाम राष्ट्रपतिमा चर्चा छ ।

यसैबीच, नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि मोर्चाबन्दी सुरु गरेको छ। सरकारलाई विश्वासको मत दिएका, तर सरकारमा नगएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग देउवाले छलफल गरेका छन्। विपक्षीको मोर्चा बनाएर राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी कांग्रेसले गरिरहेको छ।

देउवाले उनीहरूसँग शनिबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका हुन्। त्यो छलफलमा भोलि सोमबार हुने राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनबारे पनि कुराकानी भएको थियो। राष्ट्रपतिको चुनाव फागुन २५ र उपराष्ट्रपतिको चैत ५ गते चुनाव हुँदैछ। – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय