बिवाह एउटासँग, सुहाग रात अर्कोसँग

गुल्मी । ‘माया एउटा सँग बिहे अर्कोसँग’ यो नेपाली समाजमा निकै लोकप्रिय गीत हो । समाजमा हुने यस्ता घटनालाई यो गीतले जस्ताको त्यस्तै चित्रण गरेको छ । सामान्यतया यस्ता घटनाहरु समाजमा घटिरहन्छन् ।

तर, गुल्मीमा ‘बिहे एउटा सँग सुहाग रात अर्कोसँग’ अचम्मको घटना घटेको छ । सुन्दा विश्वास नलाग्ने यो घटना गुल्मीको धुर्कोट गाउँपालिका—५ का प्रकाश बिकको जीवनमा घटेको हो । बिक बैदेशिक रोजगारीबाट बिवाहको लागि एक महिना अगाडि मात्र घर आउनुभएको थियो । उमेरले २८ वर्ष पुग्नुभएका उहाँको घरमा सल्लाह गरेर मागी बिवाहको तयारीमा लाग्नुभयो । दिदि चमेली बिकले सानिमा सासु मार्फत बिवाहको लागि अर्घाखाँचीको छत्रदेव गाउँपालिका—४ मा पु¥याउनुभयो । स्थानीय राधिका सुनारसँग बिवाहको छिनोफानो भयो । यो घटना यही माघ १० गतेको हो ।

प्रकाश घर फर्किएर बिवाहको तयारी थाल्नुभयो । १२ गते राधिकालाई घरपरिवारले तम्घास ल्याउनुभयो । प्रकाश धुर्कोटबाट तम्घास आउनुभयो । त्यसपछि बिवाहको सरसमान किनेर धुर्कोट फर्किपछि सोही दिन दिउँसो औपचारिक रुपमा बिवाह सम्पन्न भयो । राधिकासँग गएका लोकन्ती दिदि रिता बिक र भाउजु पुष्पा बिकसँगै दुलही रातभर रहनुभयो । दुलहा प्रकाश अर्को दिन दुलन फर्काउन जाने तयारीमा हुनुहुन्थ्यो ।

१३ गते बिहान लोकन्तीलाई औपचारिक विदाइ र दुलहा प्रकाश साथै दुलही राधिका दुलन फर्काउन छत्रदेव—३ मा राधिकाको माइत पुग्नुभयो । कुराकानी भयो, खानपिन भयो त्यसपछि राति १० बजे ससुराली पुगेका प्रकाश जेठानसँग र माइत पुगेकी राधिका भाउजुसँग सुत्नुभयो ।

अचानक राति ३ बजे प्रकाशलाई घरमा घटना घटेको भन्ने सुचना प्राप्त भयो । प्रकाशले घटनाबारे जानकारी पाउँदा आफ्नै दुलही राधिका अर्को लभ परेको केटासँग भागेको थाहा पाउनुभयो । अपत्यारिलो त्यो घटना सत्य रहेछ । जसको लागि न्याय खोज्दै प्रकाश विगत एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय गुल्मीमा धाउनुभएको छ । “खै यस्तो घटना के कसरी सुनाउन सक्छु र ?” प्रकाशले भन्नुभयो, “इज्जतको मुल्य त नफर्किने भो, बिवाहको क्षतिपुर्ती चाहिन्छ ।” आफुलाई न्याय हुनुपर्ने उहाँको तर्क छ ।

राधिकाका अनुसार घरपरिवारले जबरजस्ती बिवाह गरिदिनुभएको हो । आफुले विगत ५ वर्षदेखि छत्रदेवकै वडा नम्बर ३ का प्रकाश सुनारसँग मायाप्रेम भएको घरमा जानकारी गराएको राधिकाले बताउनुभयो । “मेरो मोबाइल खोसेर बन्धक बनाएर बिवाह गराइएको थियो ।” उहाँ भन्नुहुन्छ, “लभ परेको मान्छेलाई छाड्न सक्दिनँ, अहिले सँगै हुन पायौं खुसी छु ।” प्रकाश सुनारसँग राधिकाको गत सोमबार १६ गते औपचारिक बिवाह भएको हो । राधिका अहिले पनि माइतीको सम्पर्कमा हुनुहुन्न । साथमा उहाँको पुरानो मोबाइल अझै पनि छैन ।

अघिल्लो हप्ता अर्कोसँग बिवाह गरेकी राधिकालाई अर्को हप्ता आफुले बिवाह गरेका प्रकाश सुनार मायाप्रेम सफल भएकोमा खुसी हुनुहुन्छ । “पाँच वर्षको मायाप्रेम सफल भएको छ” उहाँले भन्नुभयो, “तिन दिन सम्पर्कबिहिन भएपनि जिबनमा सँगै हुन पाइयो ।” आफुले पाँच वर्षसम्म मायाप्रेममा हुँदा पाँच पटक हात काटेर रगतले सिन्दुर भरेको भन्दै प्रकाश सुनारले अन्यत्र बिवाह गरेकी राधिकालाई बिवाह नगरेको दाबी गर्नुहुन्छ । पहिलो पटक आफैले हात काटेर रगतले सिन्दुर भरेको उहाँले बताउनुभयो ।

कक्षा ११ मा पढ्दा देखि ५ वर्ष पहिलेबाट आफुहरु एक भएको राधिका र प्रकाश सुनारको भनाइ छ । उहाँहरुले पीडित देखिएका प्रकाश बिकको परिवारलाई क्षतिपुर्ती नदिने भन्दै जबरजस्ती बिवाह गराइदिने माइती पक्ष जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ । राधिकाकी आमा मानकुमारी बिक भने यो घटनाबारे बोल्नुभएको छैन ।

प्रकाश सुनारकी हजुरआमा जमुना बिकले अहिलेको जमाना आफुहरुको पालाको जस्तो नभएकोले मायाप्रेम गर्नेले बिवाह गर्नुपर्ने बताउनुहुन्छ । उहाँ नाति र नातिनी बुहारी एक भएकोमा खुसी हुँदै जबरजस्ती मागी बिवाह गर्न नहुने भन्दै आफुहरुलाई न्याय हुनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले राधिका, राधिकाका माइती, पीडित प्रकाश बिकको घरपरिवार र नयाँ दुलहा प्रकाश सुनारको घरपरिवारसँग छलफल गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले यस सम्बन्धि उजुरी आएकोले दुवै पक्षलाई बोलाएर पहिलो चरणमा छलफल भइरेहको र अझै टुङ्गो नलागेको बताउनुभयो । – प्रतिक खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय