मातापिताको स्मृतिमा खरेल परिवारद्वारा ज्ञानज्योतिलाई बाह्र लाख बढीको सहयोग

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका ९, अर्लाङ्गकोटमा अवस्थित ज्ञानज्योति आधारभूत विद्यालयले स्तरोन्नति र शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले सहयोग संकलनका लागि विद्यालयको रजत महोत्सवको आयोजना गरेको छ।

आयोजित धनधान्याचल महायज्ञमा मुसिकोट नगरपालिका ९, ददल्कामा जन्मेर जापानमा व्यवसाय गर्दै आउनुभएका तुलसीराम खरेल सपरिवारले रु. बाह्र लाख एघार हजार एक सय एकाउन्न रुपैयाँ स्वर्गीय मातापिताको स्मृतिमा सहयोग उपलब्ध गराएको छ।

ग्रामीण क्षेत्रमा सुलभ र गुणस्तरीय शिक्षाका लागि भन्दै विशिष्ट समाजसेवीले निरन्तर सहयोगी हातहरु अघि बढाइरहेका छन्। देशमा जुनसुकै व्यवस्था आएपनि विदेशमा बस्ने नेपालीहरुको खुल्ला सहयोग बिना शिक्षा क्षेत्रमा सुधार हुन सकिरहेको छैन।

गुल्मी मुसिकोट नगरपालिका ९, अर्लाङ्कोट स्थित ज्ञानज्योति आधारभुत विद्यालयले आयोजना गरेको फाल्गुन ०९-१५ गतेसम्म सञ्चालन गरिने विद्यालयको रजत जयन्ती महोत्सव तथा सप्ताह धनधान्याचल ज्ञान महायज्ञको अवसर पारेर मुसिकोट नगरपालिका ९, ददल्कामा जन्मेर व्यवसायको क्रममा लामो समयदेखि जापानमा रहेका खरेल परिवारद्वारा सहयोग गरिएको हो ।

खरेलले एनआरएनए जापानका सल्लाहकार, पुर्व आइसिसी सदस्य, ददल्का माविका संस्थापक आजीवन सदस्य, अर्लाङ्कोट सेवा समाज जापानका संरक्षक एवम् ज्ञानज्योति आधारभुत विद्यालयको रजत महोत्सव मुल समारोह समितिका उपसंयोजक तथा अन्तर्राष्ट्रिय सल्लाहकार लगायतका भूमिका निर्वाह गर्नुभएको छ।

शिक्षाप्रेमी, सफल व्यवसायी, सकेसम्म आफ्नो माटोका बेरोजगार युवाहरुलाई नै प्राथमिकतामा राखेर रोजगार दिदै आएका, उच्चकोटिका समाजसेवी, दानवीर श्री तुलसीराम खरेल एवम् उहाँका समाजसेवी, शिक्षाप्रेमी, ग्रामप्रेमी सहोदर दाजुभाइको सिंगो परिवारले ब्रह्मलिन पिता हरिलाल खरेलको नाममा रु बाह्र लाख एघार हजार एक सय एकाउन्न विद्यालयलाई सहयोग गरेको छ।

समाजसेवी तुलसीराम खरेल एनआरएनए जापानका पुर्व उपाध्यक्ष हुँदै अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) सदस्य रहनुभएको छ। खरेल गुल्मेली समाज जापानको उपाध्यक्ष भैसक्नुभएको छ। हाल उहाँ एनआरएनए जापान र चितवन समाजको सल्लाहकार हुनुहुन्छ।

उहाँ जापानको ओसाका कान्साई क्षेत्रमा रहेका विभिन्न संघसंस्थामा संरक्षक एवं सल्लाहकारको रुपमा अभिभावकको भूमिका निर्वाह गर्दै आउनुभएको छ। खराल वंश कुल मन्दिरको संरक्षक, ददल्का स्कुलको आजीवन सदस्य, इन्टरनेसनल स्कुल जापानको संस्थापक सदस्य तथा बोर्ड मेम्बर र अर्लाङ्गकोट सेवा समाज जापानको संस्थापक संरक्षक हुनुहुन्छ।

यस क्षेत्रकै प्रतिष्ठित समाजसेवी खरेल परिवारले विद्यालय, मठमन्दिर निर्माण लगायत विभिन्न परोपकारी सेवाका संस्था आदि क्षेत्रमा ठुलो सहयोग लगानी गर्दै आएको छ। यसखाले पवित्र कर्ममा निरन्तर लागिरहेका खरेल परिवारप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ ।

शिक्षाप्रेमी, मातृमाटोको विकासप्रति सदैव चासो चिन्ता राख्ने सामाजिक व्यक्तित्व श्री तुलसीराम खरेल एवम् समाजसेवी महेश,पुर्णकला खरेल, हरि,दुर्गादेवी खरेल, तुलसीराम,तुलसीदेवी खरेल, मुक्तिराम,कमला खरेल, टिकाराम,सिता खरेल सपरिवारजनमा महायज्ञ आयोजक समितिले हार्दिक बधाई एवम् आभार व्यक्त गरेको छ।

आँउदो फागुन ९ गते देखि १६ गतेसम्म विद्यालयमा रजत महोत्सव श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ।

२०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन्।

विद्यालयको शैक्षिक गुणस्तर सुधार एवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन यतिबेला विभिन्न ठाउँठाउँमा महोत्सवको प्रचार प्रसार र भेटघाट कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय