यि हुन शाकाहारीलाई हुने ६ अप्ठ्यारा

काठमाडौं । मानिसले के खाने, के नखाने ? त्यो नितान्त व्यक्तिगत रोजाइको कुरा हो । कोही शाकाहारी हुन्छन् त कोही मांसाहारी ।

पछिल्लो समय शाकाहारी जीवनशैली अपनाउनेहरुको संख्या पनि बढ्न थालेको छ । मासुका लागि काट्ने क्रममा जनावरको पीडा सहन नसकेर कोही शाकाहारी भएका हुन्छन् भने कोही आफ्नो जीवनशैली परिवर्तन गर्न बनेका छन् । कतिपय व्यक्ति मासु वर्जित गरिने धर्म र संस्कारमा लागेर पनि शाकाहारी बन्न पुगेका हुन सक्छन् । तसर्थ, शाकाहारी बन्नका लागि सबैका आ-आफ्नै कारण हुन्छन् ।

मानिसको बनावट शाकाहारी हो कि मांसाहारी पनि हो भन्ने बहस पनि चलिरहन्छ । तर पनि कस्तो खानपान शैली अपनाउने भन्ने व्यक्तिगत रोजाइ नै हो ।

भक्तपुर निवासी सीता कार्की  शाकाहारी थिइन् । जब उनले छोरी जन्माइन्, तब उनको शरीर कमजोर भयो र स्तनपान गराउन पनि कठिन भयो । जसकारण उनले सबैको सुझावमा मासु खान थालिन् । अरु खानेकुराबाट पूर्ति हुँदैन भन्नेहरु धेरै आए । उनले पनि आफ्नो सन्तानको स्वास्थ्यका लागि मासु खानैपर्छ भनेर खान थालिन् । सुरुमा उनलाई कठिन भए पनि बिस्तारै बानी पर्‍यो ।

काठमाडौंको सीतापाइला बस्ने ५७ वर्षीया गीता विष्टको पाठेघरको शल्यक्रिया गरियो । उनलाई चिकित्सकले पोषणको लागि मासु खान सुझाए । मासुले नै घाउ भरिने भन्ने कुरा आएपछि छिटो निको हुन मासु खाइन् ।

यी दुई प्रतिनिधि उदाहरणले शाकाहारी हुन स्वास्थ्यको दृष्टिकोणले राम्रो भए पनि शाकाहारी बन्न भने सहज छैन भन्ने देखिन्छ । अझ चाडपर्व होस् वा खुशीयाली मासु खाएर नै मनाउने नेपाली समाजमा पूर्ण रुपमा शाकाहारी हुनु चुनौती नै छ ।

पाहुना जाँदा  – शाहाकारी हुनेले धेरै भोग्नुपर्ने समस्या भनेको पाहुना जाँदा हो । कतै आफन्त वा साथीभाइकहाँ जाँदा के खानुहुन्छ भनेर सोध्ने कुरा पनि भएन । त्यस्तो बेला भित्र भान्सामा खानेकुरा पाकिरहेको हुन्छ । अझ पाहुनाका लागि भनेपछि मासुकै मिष्ठान्न परिकार बनाइने भयो । जब खानेकुरा डाइनिङमा सर्भ गरिन्छ, त्यतिबेला मासुको परिकार देख्दा खाँदिन भन्दा साह्रै अप्ठ्यारो परिस्थिति आउँछ । ‘म शाहाकारी हुँ’ भन्दा उनीहरु पनि खिन्न हुन्छन् । यो परिस्थिति पाहुना बोलाउने र पाहुना बन्ने दुवैका लागि नरमाइलो बन्न सक्छ ।

रेस्टुरेन्टमा भेज परिकारमा विविधता हुँदैन – शाहाकारीलाई घरबाहिर रेस्टुरेन्टमा गएर नयाँ खानेकुरा खाऔं भन्न पनि सहज छैन । एक त शाकाहारीलाई नै लक्षित गरेर खोलिएका रेस्टुरेन्ट निकै कम छन् भने मासुजन्य परिकार पाइने रेस्टुरेन्टमा तेलदेखि धेरैकुरा मिसिएको हुन सक्छ । शाकाहारी रेस्टुरेन्ट खोल्दा धेरै फाइदा नहुने भएकाले पनि यसप्रति व्यवसायीहरुको आकर्षक त्यति पाइँदैन ।

बिरामी हुँदा  शरीर कमजोर भएर नै मानिस बिरामी पर्ने हो । केही रोगमा त चिकित्सकले धेरै तरकारीमा पनि कटौती गर्ने सल्लाह दिन्छन् । जसले गर्दा जो शाकाहारी छ उसलाई थप समस्या हुन जान्छ । शाकाहारीले खाने प्रायः खानेकुरा सागपात, मौसमी तरकारी, काजु, किसमिस, दुध, दही नै हुन् । यस्तोमा शाकाहारी व्यक्तिलाई कुनै रोग लागेको छ र चिकित्सकले  ब्रोकाउली, आलु, दूधजन्य खानेकुरा बार्न भनेका छन् भने उनीहरु सीमित खानेकुरामा भर पर्नुपर्ने हुन्छ । जसकारण शरीरले आवश्यक पौष्टिक तत्व नपाउँदा रोगबाट तंग्रिन समय लाग्छ ।

शाकाहारी महिला सुत्केरी हुँदा – सुत्केरी भएपछि महिलालाई पोषणयुक्त खानेकुरा जरुरी हुन्छ । चिकित्सकहरुले पनि पोषिलो खानेकुरा मासुबाट पाउने र चाँडै ठीक हुन मद्दत गर्छ भनेर मासु खान सुझाउँछन् । तर शाकाहारी सुत्केरी महिलाले सीमित खानेकुराबाट पोषणको परिपूर्ति गर्नुपर्ने हुन्छ । कतिपयले त सुत्केरी भएपछि बाध्य भएर मासुका परिकार खानुपर्ने अवस्था आउन सक्छ ।

यात्रा गर्दा यात्रा छोटो होस् वा लामो दूरीको । यात्राका क्रममा भोक लाग्दा होटेल वा रेस्टुरेन्टमा जाँदा मेन्युमा प्रायः मासुका परिकार हुन्छन्, शाकाहारी परिकार सीमित हुन्छन् । जसले गर्दा शाकाहारीले भने जस्तो खान पाउँदैनन् । त्यसैले जस्तो पाउँछ त्यसैमा चित्त बुझाउनुपर्ने हुन्छ ।

साथीहरुसँगको जमघट शाकाहारीलाई अप्ठ्यारो अवस्था अर्को कति बेलामा आउँछ भने साथीहरुसँग जमघटमा । होटल, रेस्टुरेन्ट वा घरमा जम्मा भएर ‘गेट टुगेदर’ गर्ने कार्यक्रम तय गरिंदा मासुका मीठो मसिनो परिकारलाई नै प्राथमिकता दिइन्छ । मासुका विभिन्न परिकार तयार पारिंदा शाकाहारीका लागि भने अत्यन्तै सीमित परिकार बनाइएको हुन्छ ।

सबैले रमाइलो गरेर खाइरहँदा आफू भने अलग भएर बस्नुपर्छ । कतिपय अवस्थामा तालमेल मिलाउन निकै कठिन हुन्छ । –  अनलाइनखबरको सहयोगमा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय