संसद्मै भिडे सत्ता पक्षका सांसद्, एकअर्का विरुद्ध आरोप-प्रत्यारोप

काठमाडौं– बुधबारको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षकै सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन्। संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे सत्तापक्षका सांसदहरु एकअर्का विरुछ खनिएका हुन्।

वर्तमान सरकारका मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी चलेको हो। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । तर राप्रपाका सांसदले त्यसको प्रतिवाद गरेका छन् ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताए । कानुनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराएको भएपनि शहरी विकासमन्त्रीको त्यस्तै अभिव्यक्ति आएको उनको भनाइ थियो।

धर्मको नाममा राजनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको भन्दै उनले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताए । मन्त्री भएर क्याबिनेटमा राय बझाउन थाल्छौं भने यसले देशलाई कुन बाटोमा लैजाने हो भन्ने भ्रम उत्पन्न हुने भन्दै एमाले सांसद पन्तले भने, ‘राप्रपाको आफ्नो विचार होला, त्यो दलले आफ्ना कुरा भन्न सक्छ, सांसदहरुले भन्न सक्छन्, तर मन्त्री भएर यसरी संविधानको बर्खिलापमा बोल्नु संविधान विपरीत हो ।’

माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने बताए । उनले अघि भनेका छन्, ‘यस्ता गल्ती आगामी दिनमा नहुन् ।’

बस्नेतले बोलेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका थिए। सत्तारुढ दल राप्रपाका सांसद धवलशम्शेर जबराले त्यसको प्रतिवाद गरेका छन् । आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको भन्दै उनले भने, ‘यो संविधानले रोक्दैन । हामीले बोल्न पाउनुपर्छ, बोल्छौं ।’

यसको अर्थ आफूहरुले संविधान र व्यवस्थालाई नमान्ने नभएको उनले बताए । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय