तपाईँले गलत तरिकाले मोबाइल चार्ज गरिरहनु भएको त छैन ?

काठमाडौँ । स्मार्टफोन प्रयोगकर्ताका लागि फोनको ब्याट्रीमा समस्या हुनु नौलो कुरा होइन ।

फोन राम्रै अवस्थामा भएपनि ब्याट्रीले साथ नदिँदा उक्त फोनको महत्त्व घट्दै गइरहेको हुन्छ । फोनको ब्याट्रीमा समस्या आउनुका पछाडि ओभरहिटिङ (फोन बढी तात्नु) रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । आज हामी सुरक्षित तरिकाले फोन चार्ज गर्न के कस्ता प्रक्रिया अपनाउने भन्ने विषयमा जानकारी दिँदैछौँ ।

फोनसँगै आएको चार्जर प्रयोग गर्नुहोस् – फोन खरिद गर्दा उक्त फोनमा जुन चार्जर आएको हुन्छ, फोन त्यही चार्जरले प्रयोग गर्नुपर्ने हुन्छ । आईफोनको सन्दर्भमा भने कम्पनीले फोनसँग चार्जर उपलब्ध गराएको हुँदैन । त्यस्तो अवस्थामा भने आधिकारिक बिक्रेताबाट फोनलाई उपयुक्त हुने चार्जर खरिद गर्नुपर्छ ।

ब्याट्रीलाई कति वाट तथा भोल्टेज क्षमताको चार्जर उपयुक्त हुन्छ भन्ने कुरा आधिकारिक चार्जरमा मात्र राम्रोसँग सन्तुलन गरेको हुन्छ । यदि फोनलाई उपयुक्त नहुने चार्जर खरिद गर्‍यो भने त्यसले ब्याट्रीलाई असर गर्ने सम्भावना धेरै हुन्छ । त्यसैले भरसक ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्छ ।

यदि ओरिजिनल चार्जर बिग्रेको छ वा हराएको खण्डमा उक्त चार्जर जति क्षमताको थियो त्यति क्षमताको नयाँ चार्जर प्रयोग गर्न सक्नुहुन्छ ।

ब्याट्री १०० प्रतिशत र शून्य प्रतिशतमा कहिल्यै नराख्नुहोस् – फोनको चार्ज पूर्ण रूपमा सक्न तपाईँलाई धेरैले सुझाव दिएका हुनसक्छन् । ब्याट्री शून्य प्रतिशत हुँदासम्म प्रयोग गर्दा ब्याट्री हेल्थ राम्रो हुन्छ भन्नेहरू धेरै भेटिन्छन् । वास्तवमा फोन शून्य प्रतिशत राखिरहँदा फोनको चार्ज चाँडो सकिने समस्या देखा पर्छ ।

ब्याट्री युनिभर्सिटीले गरेको अनुसन्धानमा यसरी फोन शून्य प्रतिशत हुँदासम्म प्रयोग गर्दा फोनको चार्ज चाँडो डिस्चार्ज हुने गरेको उल्लेख गरिएको छ ।

तपाईँले आफ्नो फोनको ब्याट्रीलाई थप काम गर्नै नसक्ने अवस्थासम्म पुर्‍याउनु गलत भएको विभिन्न विज्ञहरूको निष्कर्ष छ । त्यसैले फोनको चार्ज भरसक ३० प्रतिशतभन्दा कम गराउनु हुँदैन भनिएको छ ।

फोनलाई १०० प्रतिशत चार्ज कहिल्यै नगर्नुहोस् – अहिले हामी हाम्रो अधिकांश समय स्मार्टफोनमा नै बिताइरहेका हुन्छौँ । हामी फोनमा अधिक समय बिताउने भएकाले खाली समय पायो कि फोन चार्जमा राख्ने गर्छौँ । विशेषगरी राति सुतेको समयमा फोन चार्जमा छोडेर बिहान १०० प्रतिशत भएको हेर्ने रहर धेरैको हुन्छ ।

तर, फोन १०० प्रतिशत हुँदासम्म चार्ज गर्नु गलत हो । आफ्नो फोनको ब्याट्री सुरक्षित राख्न फोनलाई ८० देखि ९० प्रतिशतसम्म चार्ज गर्नुहोस् ।

फोनलाई रातभर चार्जमा नछोड्नुहोस् – थुप्रै प्रयोगकर्ता फोनलाई रातभर चार्जमा छोड्ने गर्छन् । रातभरि फोन चार्जमा छोड्दा बिहान फोन १०० प्रतिशत हुन्छ । जसले गर्दा फोनलाई जतिबेलै प्रयोग गर्न सकिन्छ । तर, यस्तो प्रचलन गलत हो । ब्याट्री १०० प्रतिशत चार्ज किन गर्न हुँदैन भन्ने माथि नै उल्लेख छ ।

फोन रातभर चार्ज गर्दा एउटा र फोन १०० प्रतिशत चार्ज हुन्छ, जुन गलत हो । फोन प्रयोग नगर्दा पनि प्राकृतिक रूपमा ब्याट्रीको चार्ज घटिरहेको हुन्छ । ब्याट्री स्वस्थ राख्न यो प्रक्रिया आवश्यक छ ।

यति तपाईँले फोन रातभर चार्जमा छोड्नुभयो भने प्राकृतिक रूपमा घट्ने चार्ज तत्कालै रिकभर हुन्छ । जसले गर्दा ब्याट्रीमा स्ट्रेस बढ्छ । यही कारणले फोनको ब्याट्री क्षमता घट्दै जान्छ ।

फोनलाई आफ्नो समय मिल्दा थोरै थोरै चार्ज गर्नुहोस् – आफ्नो समय अनुकूल फोनलाई थोरै थोरै चार्ज गर्नुलाई ट्रिकल चार्जिङ भनिन्छ । आधुनिक स्मार्टफोनमा यसरी फोन चार्ज गर्दा त्यसले ब्याट्रीलाई कुनै असर गर्दैन ।

विशेषगरी लिथियम आयन ब्याट्रीलाई यसरी समय-समयमा चार्ज गर्दा उपयुक्त हुन्छ । तर, धेरै चार्ज गर्‍यो वा फोनको तापक्रम धेरै राख्यो भने त्यसले ब्याट्री क्षमतालाई असर गर्छ । – टेकपाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय