यस्तो बन्यो २३ सदस्यीय नयाँ मन्त्रिमण्डल : कस्को बरियता कुन ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिमण्डल विस्तार गरेर २३ सदस्यीय नयाँ मन्त्रिमण्डल पुराउनुभएको छ । गत पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएका प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाउनुभएको हो ।

यस्तै आज राष्ट्रपति कार्यालयले मन्त्रीहरूको कार्यविभाजनसँगै बरियताक्रम पनि तोकेको छ। राष्ट्रपति कार्यालय शितलनिवासले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्री नियुक्त गरेको र जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

विस्तारित मन्त्रिमण्डलको पहिलो बरियतामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ। प्रधानमन्त्रीसँग वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि छ।

त्यस्तो दोस्रो बरियतामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,तेस्रो बरियताक्रममा उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, चौथो बरियताक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पाँचौ बरियताक्रममा राप्रपाका अध्यक्ष उपप्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन रहनुभएको छ ।

यस्तै बरियताक्रम छैटौँ नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सातौँ नम्बरमा शहरी विकास मन्त्री विक्रम पाण्डे, आठौँ बरियतामा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साह, नवौंमा उद्योग, वाणिज्य तथा आपूर्ति दामोदर भण्डारी र दशौँ नम्बरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई हुनुहुन्छ ।

११ औँ बरियतामा खानेपानीमन्त्री अब्दुल खान, १२ औँ बरियतामा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, १३ औँ बरियतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी रहँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी १४ औँ बरितामा, रक्षामन्त्री हरिप्रसाद उप्रेती १५ औँ बरियतामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती १६औँ बरितामा हुनुहुन्छ ।

१७ औँ बरियतामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, १८ औँ बरियतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल, १९ औँ बरियतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, २० औँ बरियतामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान हुनुहुन्छ ।

त्यस्तै आज तीन राज्यमन्त्री पनि नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की र उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपक बहादुर सिंह नियुक्त हुनुभएको छ ।

नवनियुक्त मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राज्यमन्त्रीहरूले राष्ट्रपति उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय