पोखरा विमान दुर्घटनाको पछिल्लो अपडेट

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा सोमबार(आज) पनि खोजी र उद्धारको काम भइरहेको छ ।

विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था थाहा हुन नसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ ।

हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हुन सकेको छैन । बाँकी ६८ जनाको शव हिजै फेला परेको थियो । रातको समयमा उद्धार गर्न नसकिएकाले आज बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । उनीहरूको खोजीका लागि सशस्त्रको १५ जना गोताखोरको टोली खटिएको छ ।

यस्तै पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने आज पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ । काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं ल्याएर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

प्रहरीका अनुसार धेरैजसो शवहरू पहिचान गर्न नसकिने अवस्थामा छन् । अहिलेसम्म २५ जनाको शव सनाखत भएको छ । हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको विमान पोखरामा अवतरण गर्न ठिक्क परेको अवस्थामा अचानक खोँचमा ठोक्किएको हो ।

विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए । विमानमा ४ जना चालक दलका सदस्यसहित ५७ जना नेपाली, पाँच जना भारतका, चार जना रुसका, दुई जना दक्षिण कोरियाका तथा आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक/एक जना यात्रु रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय