विमान दुर्घटनामा परी पत्रकार पौडेलको निधन

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १/२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यती एयरलायन्सको जहाजमा पोखरा फर्किएका थिए ।

जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए ।

पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।

२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको अध्यक्ष भएका पौडेलले त्यसअघि पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र दुई पटक सचिव भएर काम गरेका थिए ।

पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय