राष्ट्रपति र सभामुख लिएर एमालेले यस्तो षडयन्त्र गर्न थालेपछि…

काठमाडौं – एमालेले साढे दुई वर्षपछिको सरकारमा जाने वा नसकेमा देशलाई मध्यावधितिर लैजाने गरी आफ्नै राष्ट्रपति, आफ्नै सभामुखको नीतिमा पुगेको षडयन्त्र बाहिरिएपछि अहिले नेपालको राजनीतिक कोर्ष नै करेक्सनको अवस्थामा पुगेको छ ।

कांग्रेससहित पाँचदलीय गठबन्धन छाडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि पनि पुष्पकमल दाहाल प्रचण्ड धेरै दिनसम्म बेचैन थिए । चुनावमा आफूलाई जिताएका मतदाताको अपमान हुने गरी नैतिक धरातल गुमाउँदै केपी ओलीको दौराको फेर समात्न पुगे पनि प्रचण्ड धेरै दिन राम्ररी निदाउन नसकेको बताइन्छ ।

आधा–आधा कार्यकाल प्रधानमन्त्री बाँडफाँडको सहमति गरेका ओलीले प्रचण्डको दाह्रा, नंग्रा सबै फुत्काएर दुई वर्षपछि मध्यावधिमा जाने सुइँको पाएपछि बालुवाटारमा हलचल मच्चिएको स्रोतले बताएको छ ।

किनभने दुई–दुईपटक संसद् भंग गरेका ओलीमा आजीवन प्रधानमन्त्री बन्ने भूत सवार भएको उनको हरेक गतिविधिले देखाएको छ । त्यसैले राष्ट्रपति र सभामुख आफ्नो हातमा भएपछि आफू अनुकूल निर्णय गर्न सहज हुने ठम्याइँमा ओली छन् ।

आफू प्रधानमन्त्री हुँदा ओलीले नियुक्त गरेका प्रदेश प्रमुखहरूले अहिले कसरी सत्ता समीकरण फेरिएलगत्तै फटाफट प्रदेशहरुमा मुख्यमन्त्रीमा दाबी गर्न एमाले सांसदलाई सहज बनाइदिए । त्यही भएर पनि प्रचण्ड ओलीसँग झस्केका हुन् ।

एकीकृत समाजवादीलाई जसरी पनि सरकारमा ल्याउने, कांग्रेससँग संवाद थालेर उसकै सहयोगमा ओलीलाई साइजमा राख्ने रणनीति प्रचण्डले अख्तियार गरेका हुन् । त्यसका लागि उनले सुरुमा माधवकुमार नेपाललाई भेटेर सहयोग मागे । त्यसपछि माओवादी नेता जनार्दन शर्मालाई कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पठाए । शर्मामार्फत प्रचण्डले ठोस प्रस्ताव पठाएको बुझिएको छ ।

मंगलबार बिहानसम्म पनि नेपाली कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने निष्कर्षमा कांग्रेस पुगिसकेको थिएन । विभिन्न अनौपचारिक ढंगले कुराकानी भइरहेका थिए ।

तर, अबको केही समयपछि देखिने गरी कोर्ष करेक्सन गर्न प्रचण्ड तयार भएपछि नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षको हैसियत गुमाएर पनि विश्वासको मत दिन सहमत भएको नेताहरु बताउँछन् ।

कांग्रेसको निर्णयप्रति केपी ओली बाहिर बाहिर हाँसे जस्तो देखिए पनि भित्रभित्र निकै मुर्मुरिएका छन् । हुन त कांग्रेसले २०५१ मा एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीलाई अल्पमतको सरकार हुँदा पनि विश्वासको मत दिएको थियो ।

त्यतिबेला अधिकारीको सरकार कांग्रेसका कारण भन्दा पनि एमालेभित्रकै विग्रहका कारण ढलेको थियो । सोही कारण अधिकारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधिमा जाने निर्णय गरेका थिए ।

तर उनको त्यो निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएपछि राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पालैपालो प्रधानमन्त्री बन्न पुगेका थिए । त्यसबेलाको विवाद २०५६ को चुनावपछि मात्र साम्य भएको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय