भोली सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।”

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय