रोकिएन त्रिविको लापरवाही – फेरि आयो लाजमर्दो सुचना !

काठमाडौं । गत माघमा बीबीएस चौथो वर्षको परीक्षा भएको थियो । तर, परीक्षा दिएको १ वर्षसम्म पनि रिजल्ट प्रकाशित भएको छैन ।

त्रिविले आफ्नो भविष्यमाथि खेलबाड गरेको भन्दै जतिसक्दो चाँडो नतिजा सार्वजनिक गर्न नतिजा कुरिरहेका विद्यार्थीहरुले सामाजिक सञ्जालहरुमार्फत दिनहुँजसो आग्रह गरिरहेका छन् । नतिजा नआएर तनाव झेलिरहेका झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुमाथि अर्को बज्रपात परेको छ । अन्य विद्यार्थीहरु जस्तै उनीहरु पनि गत वर्ष सम्पन्न बीबीएस चौथो वर्षको रिजल्ट कुरेर बसेका थिए ।

तर, उनीहरुले नतिजा पाउने वेलामा उल्टै फेरि परीक्षा दिनुपर्ने भएको छ । बिहीबार दमक क्याम्पसले बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई २४ गते अर्थात आइतबार रिसर्च मेथोडोलोजी विषयको पुनः परीक्षा दिन सूचना जारी गरेको छ ।

सामान्यतया परीक्षा दिएको ६ महिनाभित्र रिजल्ट आउनुपर्ने थियो । तर, त्रिवि एक वर्षसम्म नतिजा सार्वजनिक गर्न नसकेको वेला उल्टै पुनः परीक्षा दिन भनेपछि विद्यार्थी तनावमा छन् ।

विद्यार्थीहरुलाई एसएमएसमार्फत पठाइएको सूचनामा भनिएको छ, ‘त्रिबिबाट २०७८ मा सञ्चालन भएको बीबीएस चौथो वर्षको सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका परीक्षार्थीहरुको रिसर्च मेथोडोलोजी विषयको परीक्षा मिति २०७९/०९/२४ गते बिहान ८ बजेदेखि पुनः परीक्षा हुने भएकाले दमक क्याम्पस परीक्षा केन्द्रमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।’

रिसर्च मेथोडोलोजी विषयको पुनः परीक्षा दिनुपर्ने सूचना पाएपछि दमक क्याम्पसका २०० बढी विद्यार्थी आक्रोशित छन् । उनीहरुले किन पुनः परीक्षा दिनुपर्ने हो कुनै कारण खुलाइएको छैन । सूचना दिने क्याम्पसले पनि केही खुलाएको छैन ।

क्याम्पसबाट परीक्षामा आउनु भन्नेमात्र जानकारी दिइयो यसअघि परीक्षा दिएको के भनेर क्याम्पसलाई प्रश्न सोध्दा हामीलाई पनि थाहा छैन भन्ने जवाफ दिएको दमक क्याम्पसका विद्यार्थी सविना क्षेत्रीले नेपाल प्रेसलाई बताइन् ।

उनले भनिन्, ‘एक वर्षअघि दिएको परीक्षाको रिजल्ट कुरेर बसेका थियौं । अब रिजल्ट आउँछ होला भनेको बेला ३ दिनमा परीक्षा दिनु भन्दै सन्देश पठाइएको छ । म त म्यासेज देखेर एकछिन छाँगाबाट खसेजस्तै भएँ । कतै फेक म्यासेज हो कि भनेर साथीहरुलाई नि सोधें, उनीहरुलाई पनि यस्तै म्यासेज आएको छ । म त के गर्ने के नगर्ने दोधारमा छु ।’

कलेजमा बुझ्दा परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिनु भनेर आएको भन्ने जवाफ पाएको उनले बताइन् । के कारणले फेरि परीक्षा दिनुपर्ने भन्ने कारण नै नखुलाइएकोमा उनी आक्रोशित छन् ।

उनीमात्र होइन अहिले दमक क्याम्पसमा बीबीएस चौथो वर्षको परीक्षा दिइसकेर पनि फेरि परीक्षा दिनुपर्ने अधिकांश विद्यार्थीहरु आक्रोशित छन् । यसअघि परीक्षा दिएर बसेका विद्यार्थीहरु कता छन् ? क्याम्पसलाई जानकारी छैन । परीक्षाको तयारी गर्नसमेत समय पर्याप्त छैन । – नेपाल प्रेसनाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय