आफ्नो निवासबाट बाहिर निस्कनै सकेनन् देउवा, किन छन् मौन ?

काठमाडौं – हात आइसकेको सत्ता गुमाएपछि चौतर्फी आलोचना खेपेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मौन देखिएका छन् ।

सत्ताबाट बाहिरिएको एक साता बितिसक्दा पनि उनी सामान्य अवस्थामा आउन सकेका छैनन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे केही बोलेका छैनन् ।

कतिसम्म भने राष्ट्रिय मेलमिलाप दिवसमा देउवाले वक्तव्यसमेत निकालेनन् । बरु पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर दिवसको सार्थकतबारे चर्चा गरेका थिए ।

सोमबार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथमा देखिएका देउवा त्यसयता कुनै औपचारिक–अनौपचारिक कार्यक्रममा पनि सहभागी भएका छैनन् । धुम्बाराहीस्थित नयाँ निवासमा सरेको पनि पाँच दिन भइसकेको छ ।

अहिले उनी आफ्नै निवासमा आउने पार्टीका सीमित नेतासँग राजनीतिक छलफल गरिरहेको बुझिएको छ । खासगरी पुस २२ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको तयारीबारे उनले निकट नेताहरुसँग परामर्श गरिरहेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर इतर समूहले बैठकमा सभापतिको राजीनामा वा विशेष महाधिवेशनसम्मको माग गर्ने रणनीति बनाएपछि देउवाले निकट नेतालाई प्रतिवादको तयारीमा जुट्न निर्देशन दिएको बुझिएको छ ।

आफू पहिलो कार्यकालमा प्रधानमन्त्री बन्ने देउवाको अडानपछि माओवादी अध्यक्ष प्रचण्ड अन्तिममा एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बनेका थिए । १० पुसमा प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए भने अर्को दिन शपथ भएको थियो । प्रधानमन्त्रीको शपथ सकिएलगत्तै देउवा पूरा कार्यक्रम नबसी निस्किएका थिए । शपथमा पनि उनको हाउभाउ असहज देखिन्थ्यो ।

कांग्रेस नेताहरूका अनुसार सभापति देउवा २२ पुसको केन्द्रीय कार्यसमिति बैठकअघि औपचारिक कार्यक्रममा सहभागी नहुने मनस्थितिमा छन् । देउवासहित उनी निकट नेताहरूकै कारण कांग्रेसले केन्द्र मात्र होइन, सातै प्रदेशको सरकार बनाउने अवसर गुमाएको छ ।

राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख, सभामुख, उपसभामुख, राजदूतलगायत धेरै पदबाट कांग्रेस विमुख बनेको छ । सोही कारण पनि देउवा कसैसँग तत्काल छलफल नगर्ने मुडमा देखिएका हुन् । उनी निकट नेताहरु भने फाटफुट मिडियामा मुख देखाउन थालेका छन् । तर अझै पनि उनीहरुमा दम्भ घटेको देखिन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर