नेपाल सँधै कोरोनाको उच्च जोखिममा, अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा विशेषज्ञको जोड

काठमाडौं । देशभर पछिल्लो समय फेरि कोरोना संक्रमण दर बढ्न थालेको छ । केही समय अघि भने नयाँ थपिने संक्रमितको संख्या शून्यमा झरेको थियो । चीनमा संक्रमण दर बढ्दै गएपछि नेपालमा पनि महामारी फेरी आउनेमा आशंका पनि फैलिएको छ ।

चीनमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ यसबारे डब्लूएचओले चिन्ता समेत व्यक्त गरेको छ । नेपाल पनि सधैँ कोरोनाको उच्च जोखिममा पर्दै गएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न अनिवार्य रुपमा खोप लगाउनुपर्नेमा विशेषज्ञहरूले जोड दिइरहेका छन् । सरकारले छिमेकी देशमा कोरोना भाइरस संक्रमण बढिरहेकाले अतिरिक्त मात्रा बुस्टर डोजका लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले बुस्टर डोज लगाइसकेकालाई पनि थप एक मात्रा लगाउने भनिएको र त्यसका लागि व्यवस्थापन भइरहेको जानकारी दिनुभएको छ । नेपालमा अरू थप खोप ल्याउने प्रक्रिया अगाडि बढेको र त्यसका लागि व्यवस्थापन भइरहेको उहाँको भनाई छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन खोपबारे सरकार गम्भीर हुनुपर्ने बताउनुहुन्छ । खोप लगाउन चाहनेलाई आवश्यकता अनुसार पर्याप्त मात्रामा खोप हुनुपर्नेमा उहाँको जोड छ ।

नेपालमा कोभिड–१९ को अवस्था अहिले सामान्य रहेको डा. पुनको भनाइ छ । अहिले अस्पताल नै भर्ना हुने गरी गम्भीर संक्रमण नदेखिएको डा. पुन बताउनुहुन्छ । कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको बेला भारतमा कडाइ गरिएको छ ।त्यहाँको केन्द्र सरकारले विभिन्न ५ देशबाट आउन चाहने यात्रुलाई अनिवार्य आरटी–पीसीआर गर्ने नियम लागू गरिसकेको छ । यस्ता देशमा चीन, जापान, साउथ कोरिया, सिंगापुर, थाइल्यान्ड रहेका छन् । नेपालमा पनि परीक्षणलाई तीव्रता दिनुपर्ने र बाहिरबाट आउनेहरूलाई कडाइ गर्नुपर्नेमा डा. पुनको जोड छ।

नेपालमा कोभिड–१९ बाट सबैभन्दा बढी खोप नलगाएका, दीर्घरोगी र वृद्धाहरूको मृत्यु भएको थियो । कोरोनाले नियमित स्वरूप बदलिरहने भएकाले कुनै पनि बेलामा खोप नलगाएका नागरिकलाई दुःख दिन सक्ने हुँदा बुस्टर खोप नलगाएकालाई खोप लगाउन उहाँको आग्रह छ । परीक्षण लगायत खोप महत्त्वपूर्ण हुने डा पुन फेरि दोहो¥याउनुहुन्छ ।

कोभिड–१९को सम्भावित जोखिमबाट बच्न खोप सँगसँगै मास्क पनि एकदमै उपयोगी छ । श्वासप्रश्वास सम्बन्धी अन्य रोगबाट पनि मास्क लगाए बच्न सकिन्छ । कोभिड–१९ को संक्रमणको जोखिम फरक स्वरूपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एकअर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन भनिरहेको छ ।

साथसाथै सङ्क्रमण फैलिन नदिन सीमा नाकामा परीक्षणमा कडाइ पनि गरिएको छ । देशभर पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय