नयाँ सरकार ७ दलको- १६६ सांसदको समर्थन

काठमाडौं । यसअघिको पाँचदलीय गठबन्धन टुटेसँगै सरकार गठनका लागि बालकोटमा नयाँ समीकरण बनेको छ ।

एमाले अध्यक्ष ओली निवासमा बसेको बैठकमा शीर्ष नेताबीच एमाले नेतृत्वमा ७ दलको गठबन्धन बनाउने सहमति भएको हो ।

सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ सीटसहित प्रधामन्त्रीको नाम लिएर नेताहरू शीतल निवास गएका छन् ।

वार्तामा सहभागी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिले दिएको समयसीमाभित्र एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा प्रचण्डको नाम पेश गरिने बताए ।

नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ । स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।

प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय