सरकार गठनबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक सुरु

काठमाडौं । नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन सत्ता गठबन्धन दलहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी रहेका छन् । भोलि साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका लागि दलहरू छलफलमा जुटेका हुन् ।

सहमति जुटाउनका लागि आज बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् – काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धन नछाडिदिन आग्रह गर्नुभएको छ ।

प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेपछि आज दुई नेताबिच भएको भेटवार्तामा पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।

पौडेलले पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गर्नुभएको निकट स्रोतले जानकारी दिएको छ ।

प्रचण्डलाई भेट्न पौडेल प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दिनुभएको छ। सो समय भोलीसाँझ सकिदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय