राष्ट्रपतिमा गैरदलीय व्यक्ति ल्याउन खोज्नु दलहरूलाई पंगु बनाउने खेल

काठमाडौं – निर्वाचन आयोगले चुनावी परिणामको प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।

कांग्रेस र माओवादी दुवैले अनौपचारिक रूपमा पहिले आफूले सरकारको नेतृत्व गर्नुपर्ने दाबी गरेका छन् । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेको छ ।

सत्तागठबन्धनका प्रमुख दलहरूबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति निर्वाचनअघि नै भइसकेको छ । समीक्षा, कार्यविभाजन र साझा नीति तथा कार्यक्रम टुंग्याउने तयारी गठबन्धनको छ । सरकार बनाउने तयारीस्वरूप दलहरूबीच भेटघाट र छलफल भइराखेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् ।

सत्तागठबन्धनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेशका सभामुख र उपसभामुखमा भागबन्डा मिलाउनुपर्नेछ । माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ ।

प्रचण्डले आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी पेस गरेका छन् । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख गठबन्धनका प्रमुख तीन दलले लिनुपर्ने मत समाजवादीको छ । तर, अहिले एकाएक गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने खेल सुरु भएको छ ।

यो कहाँबाट र कुन उद्देश्यले आएको हो भन्ने अझै खुलेको छैन । तर व्यक्तिकै नाममा समाचारका पाना रंगिएका छन् । संसद् त्रिशंकु् बनेका बेला गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने खेल खेल्नुलाई राम्रो मानिएको छैन । राष्ट्रपतिमा अहिले पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाम चर्चामा आएको छ । पचासौं वर्ष राजनीति गरेर राज्यको उच्च पदमा पुग्ने चाहना सबै नेताले राखेका हुन्छन् ।

तर जब पद पाउने बेला आउँछ तब हिजो जीवनभर राज्यका निकायमा बसेर मोजमस्ती गर्ने कर्मचारीको नाम चर्चामा आउने गर्छ । जसले गर्दा राजनीतिप्रति वितृष्णा पैदा हुँदै गएको छ । राष्ट्रपतिमा रेग्मी, श्रेष्ठका साथै केदारभक्त माथेमा, डा.जगमान गुरुङ, डा.सुरेशराज शर्मालगायतको नाम चर्चामा ल्याइएको छ ।

यो किन र कुन उद्देश्यबाट आएको हो भन्ने तथ्य विस्तारै खुल्ला तर स्वतन्त्र उम्मेदवारले प्रमुख राजनीतिक दलहरूलाई चुनौती दिइरहेका बेला राष्ट्रपति गैरदलीय व्यक्ति ल्याउने हो भने राजनीतिकर्मीले सन्न्यास लिए वा काशी गए हुने जनस्तरमा आवाज उठ्न थालेको छ ।

राजनीति विश्लेषकहरूले गैरदलीय व्यक्तिलाई राष्ट्रपतिमा ल्याउन खोज्नु दलहरूलाई पंगु बनाउने खेल भएको बताउन थालिएको छ । देशमा राष्ट्रपतिका लागि एक से एक नेता सक्षम छन् ।

कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, एमालेबाट सुवासचन्द्र नेम्वाङ, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नन्दबहादुर पुन राष्ट्रपतिका लागि योग्य छन् । जसले आफ्नो जीवन नै देशका लागि समर्पित गरेका छन् ।

त्यसैले दलभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने सबैको एक मत छ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले त गैरदलीय व्यक्ति राष्ट्रपति हुनै नसक्ने र यो बजार हल्ला मात्र भएको बताइसकेका छन् । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय