गठनको पाँच महिनामै राष्ट्रिय पार्टी बन्दै रास्वपा, समानुपातिकमा ३ लाख मत कटायो

काठमाडौं । करिब पाँच महिना अगाडि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय पार्टीको हैसियत सुनिश्चित गरेको छ । जारी समानुपातिकतर्फको मतगणनामा यस पार्टीले तीन लाख मत कटाउँदै शानदार प्रदर्शन गरेको हो ।

सञ्चारकर्मी रवि लामिछानेले टेलिभिजनको जागिर छोडेर राजनीतिमा होमिँदै गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरेका थिए । छोटो समयमै व्यापक जनसमर्थन पाएको यस पार्टीले प्रत्यक्षमा हालसम्म सात सिट जितिसकेको छ । समानुपातिकतर्फ पार्टीको मत अझै उत्साहजनक छ ।

समानुपातिकतर्फ हालसम्मको मत परिणाममा रास्वपाले ३ लाख १४ हजार भन्दा बढी मत ल्याएको छ । अहिलेसम्म गणना भएको करिब २४ लाख मतलाई शतप्रतिशत मान्दा रास्वपाले ल्याएको मत मोटामोटी १५ प्रतिशत हो ।

निर्वाचन आयोगले आमनिर्वाचनमा १ करोड ९ लाख मत खसेको जनाएको छ । त्यसमा यदि सदर मत एक करोड भयो भने राष्ट्रिय पार्टी बन्न त्यसको ३ प्रतिशत अर्थात् ३ लाख मत ल्याउनुपर्ने हुन्छ । रास्वपाको मत तीन लाख कटिसकेकाले राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ ।

यदि अहिलेकै अनुपात अन्तिमसम्म कायम राखेको खण्डमा यस पार्टीले अन्तिम परिणाममा समानुपातिकतर्फ १५ लाख मत ल्याउन सक्छ । त्यो भनेको १५ जनासम्म समानुपातिक सांसदको सुनिश्चितता हो । प्रत्यक्षतर्फ सात सिट रास्वपाले जितिसकेको छ र थप २ सिटको सम्भावना छ ।

प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा २४–२५ सिट पुग्न सक्छ । यो भनेको संसद्को निकै बलियो शक्ति हो । भावी सरकार निर्माण यस पार्टीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।

यदि सत्तारुढ गठबन्धनको बहुमत आयो र उनीहरूमा विभाजन भएन भने रास्वपा प्रतिपक्षमा रहनेछ । अन्यथा सरकार कांग्रेस वा एमालेसँग मिलेर सरकारमा जाने बाटो खुल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय