झापा–४ मा एमाले–कांग्रेसलाई टक्कर दिइरहेका घण्टीका उम्मेदवार को हुन् ?

काठमाडौं । मतदान अघिसम्म धेरैको नजरमा नपरेका शम्भुप्रसाद ढकालले झापा क्षेत्र नं. ४ मा उल्लेख्य मत पाइरहेका छन् ।

मतगणना सुरु भएदेखि मंगलबार बिहानसम्म अग्रता कायम गरिरहेका उनलाई पछिल्लो मत परिणाममा नेकपा एमालेका उम्मेदवार एलपी साँवाले पछि पारेका छन् । तर, मतान्तर झिनो छ ।

साँवाले ५ हजार ३६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका ढकालले ५ हजार ११ मत ल्याएका छन् । चुनाव अघिसम्म एमालेका साँवा र नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेले ढकाललाई चुनौती नै मानेका थिएनन् ।

चुनावअघि अनलाइनखबरसँग कुरा गर्दै साँवाले कांग्रेससँग मात्रै प्रतिस्पर्धा भएपनि फराकिलो अन्तरले जित निकाल्ने बताएका थिए । स्वतन्त्रहरुले उल्लेखनीय मत नल्याउने उनको विश्लेषण थियो ।

तर, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल नै उनका प्रमुख प्रतिद्वन्द्वी बनेर आएका छन् ।

को हुन् ढकाल ? -झापाको कनकाई नगरपालिका–३, सुकेडाँगी घर भएका ढकाल पूर्वप्रहरी हुन् ।

प्रहरीमा छउञ्जेल इमान्दार र स्पष्ट वक्ताका रुपमा छवि बनाएका उनले प्रहरी नायब निरीक्षक (सई) बाट २३ माघ २०७७ मा राजीनामा दिएका थिए । प्रहरीमा छउञ्जेल उनले निजामतीमा सरह प्रहरी समायोजनमा जाने तल्लो तहका कर्मचारीलाई एक तह बढुवा गर्नुपर्ने माग राख्दै पैरवी गरिरहेका थिए ।

तर, उनीहरुको अभियान सफल भएन । ‘प्रहरीमा रहुञ्जेल देशमा भ्रष्टीकरण कुन तहमा पुगिसकेको रहेछ भन्ने थाहा पाएँ’, ढकाल अनलाइनखबरसँग भन्छन्, ‘प्रहरी र बाहिर पनि जुन किसिमको भ्रष्टीकरण छ, परनिर्भरता छ, त्यसलाई हटाउनुपर्छ भन्ने भएर प्रहरीबाट राजीनामा दिएको थिएँ ।’

राजीनामा दिएपछि उनले राजनीतिलाई सङ्लो बनाउने गरी राजनीतिक प्रशिक्षणमा लाग्ने सोचेका थिए । त्यसैले उनी अव्यवस्थाविरुद्ध खरो उत्रिने पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलसँग नजिकिएका थिए ।

‘आफू भलो त जगत भलो भनेर मात्रै नहुने रहेछ, अरुलाई पनि सही बाटोमा हिँडाउन सक्नुपर्ने रहेछ’, उनी भन्छन्, ‘यही बुझेपछि आफैं राजनीतिमा आउने निर्णय लिएको थिएँ ।’

ढकाल प्रहरी सेवामा आउनुअगावै झापामा चिनिएका व्यक्ति हुन् । उनी तत्कालीन सुरुङ्गा गाविसको वडा नं. १ बाट फुटबल टोलीको पनि प्रतिनिधित्व गर्थे ।

त्यसबेला उनी वडाका लागि गोल किपरका रुपमा खेल्ने गर्थे । त्यही बेला उनीसहितको समूहले गाउँमा मदिरा र जुवातास नियन्त्रण अभियान पनि चलाएको थियो ।

२०४८ सालमा एलएलसी दिएका उनी रंगमञ्चबाट पनि गाउँघरमा चिनिएका थिए । नाटक लेखन र अभिनय गर्ने काम पनि उनले गरे । ‘सामान्य अवस्थाका मान्छेलाई केही न केही रोजगारी चाहिने भइहाल्यो, त्यही बाध्यताले जवानबाट प्रहरीमा प्रवेश गरेको थिएँ’, ढकाल भन्छन् ।

२०६१ कात्तिकमा उनले खुला प्रतिस्पर्धाबाट असईमा नाम निकालेका थिए । प्रहरीमा गएपछि उनले रेडियो नेपाल, कान्तिपुर एफएम, नेपाल टेलिभिजन लगायतका प्रहरी कार्यक्रम पनि चलाए । जागिर छाड्नुअघि उनी मेट्रो ट्राफिक एफएममा कार्यरत थिए ।

उनका दुई कथा संग्रह सेरोगेट लोग्ने र शहीदकी आमा पनि प्रकाशित छन् । साहित्यमा ढकाल शम्भु सुस्केराको नामले परिचित छन् ।

उनले प्रहरी जवानका लागि तयारी पुस्तक पनि निरन्तर लेख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय