गुल्मीको अर्बेनीमा पुनः मतदान हुने

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ ।

जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

आइतवार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए ।

यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका वडानम्बर-५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमति पश्चात मतदान पुनः सुचारु गरिएको थियो । जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो ।

निर्वाचनको लागि २ हजार ५ सय वढि सुरक्षाकर्मी र २ हजार बढी कर्मचारी परिचालन गरिएको छ । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय