गोरखामा ५० प्रतिशत भन्दा कम मतदान

गोरखा । छिटपुटका घटनाबाहेक गोरखामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर गत निर्वाचनको तुलनामा यसपटक मत कम खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाभर कुल ६५.३ प्रतिशत मत खसेको थियो । तर यसपटकको निर्वाचनमा करिव ४५ देखि ५० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए ।

‘मतदान सकिएपनि कति प्रतिशत मत खस्यो भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘तर करिव ४५ देखि ५० प्रतिशत मत खस्यो भन्ने हाम्रो आकलन हो ।’ मतपेटिकाहरु संकलन गरेर मतगणना स्थलमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

यसपटकको निर्वाचनका लागि जिल्लामा कुल २ लाख २० हजार ६३७ मतदाता कायम भएका थिए । २ सय २२ मतदान स्थल र ३ सय १७ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले र नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । श्रेष्ठ शनिबार नै गोरखा आएका थिए भने भट्टराई आइतबार बिहान मात्र आएका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार आफ्नो निर्वाचन क्षेत्रका मतदान स्थलहरुको निरीक्षण समेत गरेका थिए ।

उनी चितवनमा मतदान गरेर गोरखाका मतदान स्थलको निरीक्षणमा आएका हुन् । केही मतदान स्थलको निरिक्षण गरेर उनी आइतबार नै फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय