चुनावी नतिजाको पूर्वाभास : समानुपातिकमा ठूला दलहरुको घन्टी बज्दै !

काठमाडौं । नेपाली कांग्रेस निकट प्रेस संगठन नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले आज फेसबुकमा लेखे- परम्परागत राजनीति, दलीय अहमता र गठबन्धन संस्कृतिविरुद्ध ‘खतराको घन्टी’ बज्ने नै देखियो ।

चितवनका मतदातासमेत रहेका अर्यालले आज त्यहाँका केही मतदान केन्द्रहरुमा पुगेर माहोल जाँचेपछि सो निष्कर्ष प्रस्तुत गरेका हुन् । उनले ‘खतराको घन्टी’ भनेर रवि लामिछानेले नेतृत्व गरेको नेपाल स्वतन्त्र पार्टीलाई इंगित गरेको बुझ्न कठिन छैन ।

आज मतदान सुरु भएदेखि नै सामाजिक सञ्जालमा अर्यालको जस्तै टिप्पणी धेरैले गरिरहेका छन् । समानुपातिकतर्फ यस स्वतन्त्र पार्टीले कांग्रेस-एमालेको हाराहारीमा मत ल्याउन सक्ने ती पार्टी निकटकै व्यक्तिहरुको आँकलन छ । स्वयम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु चाहिँ आफूहरु समानुपातिकमा पहिलो र समग्रमा तेस्रो शक्तिका रुपमा स्थापित हुने बताउँछन् ।

नेपालप्रेसकर्मीहरु आज काठमाडौंका विभिन्न मतदान केन्द्रहरुमा गएर मतदाताहरुको भावना बुझ्ने प्रयास गर्‍याे । अधिकांश मतदाताहरुमा पुराना पार्टीहरुप्रति वितृष्णा र नयाँ अनुहारको चाह बढेको पाइयो । युवा मतदाताहरुले खुलेरै समानुपातिकमा ‘घन्टी’ रोजेको बताए । यस्तै परम्परागत रुपमा पुराना पार्टीलाई भोट हालिरहेका थुप्रै मतदाताले यसपालि घन्टीतर्फ सिफ्ट भएको पाइएको छ ।

घन्टीलाई रोज्नुको कारण यस पार्टीबाट धेरै आशा भएर भन्दा पनि पुराना पार्टीहरुलाई सबक सिकाउने मतदाताको उद्देश्य देखिएको छ । अधिकांस मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबाहेक अरु नेताहरु चिन्दैनन् । उम्मेदवारको नामै थाहा नभएकाले पनि घन्टीमा भोट हालेका छन् ।

खहरेको गान्धी स्कुलमा आफ्नी सासूआमालाई लिएर मत हाल्न आएकी एक गृहिणी महिलाले भनिन्, ‘म त घन्टीकै लागि भोट हाल्न आएकी हुँ, नत्र आउँदिन थिएँ ।’ उनले प्रतिनिधिसभातर्फ समानुपातिकमा घन्टी रोजेको तर, प्रदेशसभामा घन्टी नभएपछि हलोमा हालेको सुनाइन् ।

परम्परागत रुपमा कुनै पार्टीमा झुकाव नराख्ने तटस्थ मतदाताहरु यसपालि घन्टी र हलोमा बाँडिएको देखिन्छ । घन्टीका कारण यो चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निकै धक्का लागेको कतिपयको विश्लेषण छ ।

रत्नराज्य स्कुल मतदान केन्द्रमा भेटिएका एक मतदाताले भने, ‘यदि घन्टी नभएको भए समानुपातिकमा राप्रपालाई हाल्ने सोचेको थिएँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा चुनावमा भने भाग लिएको छैन । त्यसैले प्रदेश समानुपातिकमा राप्रपालाई फाइदा भएको देखिन्छ । यद्यपि, राप्रपाले प्रतिनिधिसभामा पनि समानुपातिकमा उल्लेख्य सीटको आशा गरेको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठ समानुपातिकमा आफ्नो पार्टी पहिलो नै बन्ने दावी गर्छन् । घन्टीले राप्रपालाई भन्दा कांग्रेस-एमालेलाई क्षति गरेको उनको विश्लेषण छ ।

उनले भने, ‘चितवन-काठमाडौंलगायत केही शहरहरुमा घन्टीको लहर देखिएको छ । तर, देशब्यापी रुपमा चाहिँ राप्रपा अगाडि छ । हामी समानुपातिकमा पहिलो शक्ति बन्छौं, लेखेर राख्नुस् ।’

उनले राप्रपा रोज्न सक्ने स्वतन्त्र मतदाताहरु केही संख्यामा घन्टीतर्फ आकर्षित भएको हुनसक्ने स्वीकार गरे । यद्यपि, घन्टीले राप्रपालाई धेरै क्षति नपुर्‍याएको उनको दावी छ ।

‘हाम्रो समानुपातिक मत आम रुपमा सुरक्षित छ । छिटपुट असर परेको हुन सक्छ । तर, ठूला भनिएका दलहरु समानुपातिकतर्फ सोत्तर हुँदैछन्’, श्रेष्ठले भने ।

स्वतन्त्र विश्लेषकहरु भने राप्रपाभन्दा स्वतन्त्र पार्टीमा बढी ह्वीम देखिएको बताउँछन् । समानुपातिकमा यस पार्टीले १० लाखभन्दा बढी भोट ल्याउने उनीहरुको आँकलन छ ।

यदि समानुपातिकमा १० देखि १५ सीट र प्रत्यक्षमा ५ सीट जितेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा बलियो र हस्तक्षेपकारी शक्तिका रुपमा स्थापित हुनेछ र सरकार गठनमा निर्णायक पनि बन्न सक्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकाल आफ्नो पार्टी समानुपातिकतर्फ पहिलो हुने दावी गर्छन् । समग्रमा तेस्रो शक्तिका रुपमा स्थापित हुने उनको आँकलन छ ।

उनले नेपाल प्रेससँग भने, ‘आजको माहोल हेर्दा हामी समानुपातिकतर्फ सबैभन्दा बढी सीट जित्न सक्ने स्थितिमा देखिएका छौं । कांग्रेस-एमालेसँग हाम्रो तीव्र प्रतिस्पर्धा छ ।’

उनले समानुपातिकमा २५ देखि ३० र प्रत्यक्षमा पनि अरुले सोचेभन्दा राम्रो नतिजा आउने उल्लेख गरे । ‘प्रत्यक्षमा पनि ८–१० सीटको सम्भावना देखिएको छ । समग्रमा तेस्रो शक्ति हुने हाम्रो घोषित लक्ष्य पूरा हुँदैछ’, डा. ढकालले भने ।

प्रत्यक्षमा स्वतन्त्र पार्टीले अध्यक्ष रवि लामिछानेको जीत सुनिश्चित ठानेको छ । उनले विशाल अन्तरले चुनाव जित्ने नेताहरु बताउँछन् । चितवन १ मा पनि स्वतन्त्र पार्टी उम्मेदवार बलियो अवस्थामा छन् । यसैगरी, काठमाडौंका २ क्षेत्र, ललितपुरका एक र देशभर थप केही स्थानमा स्वतन्त्र पार्टीका उम्मेदवारहरु प्रतिस्पर्धी देखिएका छन् ।

प्रत्यक्षतर्फ समग्रतामा कांग्रेस नेतृत्वको गठबन्धन अगाडि छ भने एमाले पछि परेको छ । – नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय