सोच थोत्रो छ भने उमेरले जवान भएर पनि त्यो युवा हुन्न रैछ’

डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन् । बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका‌ जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन् ।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु । भोलि र पर्सि मौन अवधि भयो । निकोपर्सि चुनावको दिन । यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु।’

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन् । डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रह समेत उनले गरेका छन् । गुल्मीका इन्जिनियर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन् ।

मौन अवधिमा निराहार व्रत बस्ने घोषणा गरेपछि त्यसको पक्षविपक्षमा टिप्पणी हुन थालेका छन् । चर्चित अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका ढकालले निराहार व्रत बसेर चुनाव जित्छु भन्नु हाँस्यास्पद भएको धेरैको टिप्पणी छ ।

लेखक सुमिनाले सामाजिक सञ्जाल फेसबुकमा ढकालको घोषणा लक्षित खरो टिप्पणी गरेकी छन् । ‘सोच थोत्रो छ भने उमेरले जवान भएर त्यो युवा हुन्न रैछ’ सुमिनाको टिप्पणी छ ।

उनी लेख्छिन्, ‘तीन दिनको मौन अवधिमा ‘निराहार व्रत’ बसेर देवी देवता भाकेर पूजाआजा गरेपछि यिनको पुकार सिधै कुनै अदभूत शक्ति आत्मा परमात्माकोमा पुग्ने होला । अनि ती अद्‌भुत शक्तिले जादु चलाउने होलान् र पुरै ब्रह्माण्डमा कायापलट भएर उथलपुथल हुने होला ।’ ‘डडेल्धुराका मान्छेको भएभरको भोट सागर ढकालले पाउने होलान् र चुनाव जित्ने होलान्?’ सुमिनाको प्रश्न छ ।

‘निराहार व्रत होइन बरु टन्न खाएर बसे त्यसले जित हारको परिणाम बेहोर्न सक्ने इम्युनिटी प्रदान गर्दो हो,’ उनी अगाडि लेख्छिन्, ‘खासमा सोचले थोत्रो छ भने उमेरले जवान भएर त्यो युवा हुन्न रैछ । सागर ढकाल कुन जमनाका आदमि हुन्? सताब्दीऔँ पुराना मान्यता बोकेर युवा हुनुको दावा गर्ने । निर्वाचनसँग मौन व्रतको कस्तो ताल्लुख हो?’

आफूलाई भगवानको प्रतिनिधि बताउने ढकाल जस्ता युवाको जित नै भएपनि अपेक्षा केही गर्न नसकिने उनको तर्क छ । ‘यि र यस्ता मान्छे भनेका युवा नभएर आफूलाई भगवानका प्रतिनिधि बताउँदै कुनै अर्कै सूत्रबाट सिधै ईश्वरसँग वातचित गर्न सक्छौँ भनेर समयौँदेखी हिन्दु समाजमा लुट मच्चाउने ब्राह्मणवादका पिछलग्गु हुन् । यिनिहरूको जितवाट मान्छेहरूले अपेक्षा नै के गरेका होलान्?’ सुमिनाको तर्क छ । –नेपाल आज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय