काठमाडौं । पैसा बाँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ (ख) का उमेदवार दीपक निरौलाले आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
शुक्रबार राति पैसा बाँडेको आरोप लागेपछि उनीसहित प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । निरौलाले आफू क्यान्सर रोगबाट पीडित तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाइएको दाबी गरेका छन् ।

“म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनैतिक प्राणी हुँ । गैरराजनैतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ, मित्रहरू आरोप पुष्टि गर्नुस् । बरामद केही भए सप्रमाण आउनुस्,” उनले भनेका छन् ।
काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका- ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका- ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् ।
उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले कडा चुनौती दिइरहेका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले पनि उनीहरूलाई चुनौती दिइरहेका छन् ।