भूकम्पका कारण वर्षालाई ‘मिनी हार्ट अट्याक’ ? फेसबुक नै गरिन् डिएक्टिभेट

काठमाडौं । हिजो काठमाडौंमा भूकम्प आएको करिब एक घण्टापछि नायिका वर्षा शिवाकोटीले फेसबुकमा लेखिन्- ‘अ मिनी हार्ट अट्याक ।’ धेरैले यसलाई ‘भूकम्प’ ले अत्याएको कुरालाई सांकेतिक तवरले व्यक्त गरेको भनेर बुझे । तर, नायिका शिवाकोटीले भने आफ्नो स्वास्थ्य अवस्थाकै कुरा गरेकी थिइन् ।

निकटस्थका अनुसार बुधबार दिउँसो अचानक अस्वस्थ बनेकी वर्षालाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । दिउँसो करिब २ बजे अस्पताल पुर्याइएपछि उनलाई चिकित्सिकले चेकजाँच गरेका थिए । चिकित्सकले उनलाई ‘माइनर हार्ट अट्याक’ भए पनि अस्पताल बस्नु नपर्ने बताएको निकटस्थ स्रोतको भनाइ छ । सामान्य स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

चिकित्सकले धपेडी र तनावका कारण माइनर हार्ट अट्याक भएको बताएका छन् । उनीहरुले चिन्ता नलिन र घरमै आराम गर्न सल्लाह दिएपछि वर्षा फर्किइन् । उनी आफ्नो निवासमा आराम गरिरहेकी छिन् । आरामकै बेलामा उनले स्टाटस लेखेकी हुन् । तर, आज उनले आफ्नो फेसबुक आईडी नै निस्क्रिय बनाइदिएकी छन् । उनको इन्टाग्राम अकाउन्ट भने चालू छ ।

पछिल्लो समय वर्षा र श्रीमान् आशिषको सम्बन्धमा खटपट आएको समाचारहरू प्रकाशित भएका थिए । यही तनावले नै हार्ट अट्याक भएको त होइन ? भन्ने किसिमको अनुमान गर्न र सोध्न थालिएपछि वर्षाले आफ्नो भेरिफाइड फेसबुक अकाउन्ट नै डिएक्टिभेट गरिदिएको स्रोतले बताएको छ । उनले कसैको फोन पनि रिसिभ गरिरहेकी छैनन् ।

फेसबुक डिएक्टिभेट गर्नुअघि वर्षाले आफ्नो अन्तिम स्टाटस संशोधन गरेकी थिइन् । उनले आफूलाई भूकम्पकै कारण मिनी हार्ट अट्याक भएको संकेत गरेकी छन् । उनले ‘मिनि हार्ट अट्याकपछि ह्यासट्यागमा ‘अर्थक्वेक’ थपेकी हुन् । तर, अहिले उनको फेसबुक नखुल्ने भएकाले उनको स्टाटस देखिँदैन ।

वर्षाले गत वैशाख ९ गते अमेरिकी निवासी आशिष गेलालसँग लगनगाँठो कसेकी थिइन् । विहेपछि श्रीमानसँगै अमेरिका पुगेकी उनले नेपाल फर्किएको केही समयपछि नै श्रीमान्‌लाई इन्स्टाग्राममा अनफलो गरिन् । साथै, उनीहरु दुवैले विवाहको बाहेकका सबै तस्बिरहरू हटाएका थिए । यसले उनीहरूको सम्बन्धमा दरार आएको आशंका गरिएको छ । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय