डेंगुका कारण राज्यमन्त्री नै अस्पताल भर्ना

काठमाडौं । डेंगु न्युनिकरणको नेतृत्व गर्नुपर्ने स्वास्थ्य राज्यमन्त्रीलाई पनि डेंगुले दुःख दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसी डेंगुका कारण अस्पताल भर्ना हुनु भएको छ ।

गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपनि उहाँलाई स्वास्थ्यमा थप समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री केसी मंगलबार रातीदेखि टेकु अस्पतालमा भर्ना हुनु भएको हो । टेकु अस्पतालका निर्देशक डा मनिषा रावलले ज्वरो आउने क्रम नरोकिएपछि अस्पताल ल्याइएको जानकारी दिनुभयो ।

यसअघि उहाँलाई घरमै राखेर उपचार गराइएको थियो । उहाँलाई एक साता अघि देखि ज्वरो आउने, रिगांटा लाग्ने, कमजोर महसुस हुने जस्ता लक्षण देखिएपछि डेंगु परीक्षण गर्दा डेंगु पुष्टि भएको थियो ।

देशभरी फैलिएको डेंगु नियन्त्रणको नेतृत्व गर्नुपर्ने स्वास्थ्य मन्त्री विदेश भ्रमणमा र स्वास्थ्य राज्यमन्त्री विरामी भएपछि मन्त्रालय थप निस्क्रीय जस्तै देखिएको छ । पछिल्लो दुई महिना देखि देशभरी डेंगु फैलिएको भएपनि नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म ठोक कदम चालेको छैन ।

केन्द्रीय सरकार जस्तै प्रदेश तथा स्थानीय सरकारहरुले पनि डेंगु नियन्त्रणका लागि कुनै पहल नगर्दा दिनप्रति दिन डेंगु फैलिदै गएको छ भने ४९ जनाको मृत्यु भइसकेको छ ।

डेंगु नियन्त्रणका लागि भारत लगायतका मुलुकमा प्रभावकारी भएको लार्भा मार्ने औषधि प्रयोग गर्ने अभियान देशभरी चलाउन विज्ञहरुले सुझाव दिदै आएका छन् । तर मन्त्रालय र स्थानीय सरकारले वेवास्ता गरेका छन् । भारतमा उत्पादन हुने गरेको वायोडाट एम नामक औषधि प्रयोगका लागि केही दिन अगाडि मात्रै कार्य विधि तयार पारेर राखेको छ । मन्त्रालयले त्यसको प्रयोग गरी लामखुट्टे न्युनिकरण गर्न मातहतका निकायहरुलाई तत्काल निर्देशन दिनु पर्ने र स्थानीय सरकारहरुले पनि आफै अग्रसर भएर औषधि प्रयोग गरी डेंगु न्युनिकरण गर्नुपर्ने विज्ञहरुको भनाई छ ।

डेंगु न्युनिकरणका उपायहरु नअपनाउँदा अझ कडा डेंगुको सङ्क्रमण फैलिन थालेको पुष्टि भएको छ । नेपालमा डेंगुको सेरोटाइप–३ पहिलोपटक पुष्टि भएको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय