झण्डै तीन दशक एउटै दर्शनमा बाँधिएका दुई राजनीतिक सहकर्मीबिच रोचक चुनावी भिडन्त हुँदै

गुल्मी–२ को चुनाव पनि पेचिलो हुने पक्का छ । यहाँ एमाले सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्रीको चुनावी भिडन्त पक्का भएको छ ।

झाँक्री गुल्मीको जनबोध उच्च माविमा भएको अनेरास्ववियुको कार्यक्रममा पृथ्वी माबिको स्कुल कमिटीको अध्यक्षका हैसियतमा सहभागी हुँदा विष्टसँग पहिलोपटक भेटेकी थिइन् । झण्डै तीन दशक लगभग एउटै दर्शनमा बाँधिएका उनीहरु गत वर्षमात्रै विभाजित भए । २ भदौ २०७८ मा एमालेबाट फुटेर एकीकृत समाजवादी बनेपछि झाँक्री एकीकृत समाजवादीतिर लागिन् भने पनि गोकर्ण विष्ट एमालेमै बसे ।

विद्यार्थीदेखि पार्टीको केन्द्रीय राजनीतिमा पुगेर संसदीय राजनीतिमा मोडिएकी झाँक्रीले पछिल्ला चुनावहरुमा विष्टका लागि भोट मागेकी थिइन् । विष्ट र झाँक्रीको पार्टी अलग्गिएपछि चुनावी मैदानमा एकअर्कालाई हराउन तम्सिएका छन् ।

यसअघि समानुपातिक सांसद रहेकी झाँक्री यसपटक कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चासहितको सत्ता गठबनधनका तर्फबाट उम्मेदवार बनेकाले चुनाव जित्नेमा आत्मविश्वासी छिन् । युवा भएको र नयाँ अनुहार पनि भएकाले झाँक्रीले जनविश्वास धेरै प्राप्त गर्ने अड्कलबाजी भइरहेका छन् ।

०४८ मा कांग्रेसका रुद्रमणि भण्डारीले जितेबाहेक यो क्षेत्र (२०७० सम्म गुल्मी ३ र हाल गुल्मी २) मा वामपन्थीहरुले जित्दै आएका छन् । ०६४ मा माओवादीले जितेको थियो भने अरु सबै चुनावमा एमालेले जित्दै आएको छ ।

विष्ट स्वयंले ०५६ देखि यो क्षेत्रमा चुनाव लड्दै आएका छन् । उनलाई ०६४ मा माओवादीका चन्द्रबहादुर थापाले हराएका थिए । अरु सबै चुनाव उनले जितेका छन् । ०७४ मा वाम गठबन्धनको बेला त उनले १४ हजारभन्दा बढी मत अन्तरले जितेका थिए ।

विगतको विरासत र लोकप्रियताका कारण एमाले सचिव विष्ट पनि कम्ता बलियो छैनन् । ३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमाले सबभन्दा अगाडि छ । एमालेले ३१ हजार २५३ मत पाउँदा कांग्रेसले २९ हजार ८२१ मत पाएको छ । माओवादी केन्द्रको १८४१ र एकीकृत समाजवादीको जम्मा ६५८ मत छ ।

यसलाई आधार मान्दा झाँक्रीलाई भोट बढाउने र विष्टलाई गठबन्धनका दलहरुलाई जाने भोट खोस्ने खोस्ने चुनौती देखिन्छ ।- अनलाइनखबरको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय