सन्दीप प्रकरणमा विभाजित समाज : दुवैजना प्रश्नको घेरामा

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी दिएसँगै यस घटनालाई लिएर देशको जनमत पूर्ण रुपमा विभाजित बनेको छ । एक पक्षले सन्दीपको आलोचना गरिरहेका छन् भने अर्को पक्षले किशोरीको ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीविरुद्ध जाहेरी दिएर हलचल मच्चाएकी किशोरी अहिलेसम्म सार्वजनिक भएकी छैनन् । कानूननः नमिल्ने भएकाले प्रहरीले पनि उनको पहिचान खुलाएको छैन । यद्यपि, सामाजिक सञ्जालमा उनको भन्दै एउटा तस्बिर भाइरल बनिरहेको छ । त्यसमा विभिन्न खाले प्रतिक्रियाहरू आइरहेका छन् । सन्दीपले आफ्नो स्टारडमको दुरुपयोग गर्दै आफ्नी ‘फ्यान गर्ल’लाई शोषण गरेको उनका आलोचकहरूको तर्क छ । १८ वर्षमुनिका किशोरी वा बालिकासँग शारीरिक संसर्ग गर्नु बलात्कार ठहरिने कानूनका कारण सन्दीप संकटमा छन् । पल शाहको घटनाबाट पाठ नसिक्नु उनको कमजोरी रह्यो ।

अर्कोतर्फ अनाम किशोरीमाथि पनि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । हरेक घटनामा पुरुष मात्रै गलत नहुने भन्दै महिलाहरूले नै उनीप्रति धेरै प्रश्नहरू तेर्स्याएका छन् । केही सेलिब्रिटीहरुले पनि उनको विरुद्धमा मुख खोलेका छन् ।

गायक शिव परियारले किशोरीप्रति लक्षित गर्दै हिजो निकै कडा स्टाटस लेखेर आक्रोश पोखे । ‘पेशेवर पीडितहरूको बलात्कार धन्दा’ भन्डाफोर गर्नुपर्ने उनले बताएका छन् । आफ्नो स्टाटस विवादित बनेपछि उनले प्राइभेट गरेका थिए । त्यसमा केही संशोधन गरेर फेरि पब्लिक बनाएका छन् । स्टाटसको पक्ष र विपक्षमा कमेन्टको वर्षा भइरहेको छ ।

दिग्गज अभिनेता सन्तोष पन्तले पनि सन्दीप प्रकरणमा किशोरीको समेत गल्ती रहेको औँल्याएका छन् ।एक अन्तरवार्तामा उनी भन्छन्, ‘नाबालिग नगरकोट किन गएको ? त्यहाँबाट फर्किएर होटेलमा जान किन तयार भएको ? रातभरि किन सँगै बसेको ? आफूमाथि जबरजस्ती भएको भए रिसेप्सनलाई, वेटरलाई, गार्डलाई भन्न सक्दैन ? सायद यो १० लाखको कुरा आएपछि उनलाई कसैले उक्साएको हो कि ? यो राष्ट्रकै बेइज्जत हुने कुरा भयो ।’

पन्तको अभिव्यक्ति पनि तीव्र विवादित बनिरहेको छ । उनको समर्थन र विरोधमा मानिसहरू बाँडिएका छन् । युवायुवतीहरूमा अत्यधिक लोकप्रिय एप टिकटक झन् सन्दीपमय छ । यहाँभित्रका प्रतिक्रियाहरू भने बढी जसो किशोरीको विपक्षमा छन् । उनको आलोचना गर्नेमा महिलाहरू नै बेसी छन् ।

अहिले भाइरल बनिरहेको एउटा भिडियोमा एक महिला जाहेरीकर्ता किशोरीमाथि यसरी खनिएकी छन् ः‘त्यो केटी राति ११, साढे ११ बजे केटाले होटेलमा पानी पुरी र चटपटे खुवाउन लग्यो भनेर पछिपछि लागेर गएकी हो ? अहिले आएर जबरजस्ती गर्‍यो भन्ने ? छोरी मान्छे हुँ, तर परिस्थिति हेरेर छोरा मान्छेको पक्ष लिनुपर्ने हुँदो रहेछ । केटी मान्छे हुँ भन्दैमा जे पनि बोल्न पाइँदैन ।’

अर्को भिडियोमा एक युवतीको भनाइ पनि यस्तै छ । – सन्दीपले जबरजस्ती होटेलमा घिस्राउँदै लगेको हो ? होटेलभित्र गएपछि पनि बच्ने उपाय छ । अहिले मलाई बलात्कार भयो भन्न सक्नेले होटेलमा भन्न किन सकिनन् ? जबरजस्ती गर्दा अरू मान्छेले थाहा पाउँदैन ? केटीको मात्रै इज्जत हुन्छ, केटाको हुँदैन ? केटीको बाउआमाको मात्रै इज्जत हुन्छ, केटाको बाउआमाको हुँदैन ? त्यो केटाको बाउआमालाई कस्तो भयो होला ?’ उनले भनेकी छन् ।

सामाजिक सञ्जालका प्रतिक्रिया नियाल्दा सन्दीपमाथि उब्जिएका आम प्रश्नहरू यस्ता छन् ः

– विदेश भ्रमणका लागि क्लोज क्याम्पमा राखिएको टिमकै कप्तान यसरी अघिल्लो रात डेटिङमा हिँड्न र मदिरा पान गर्दा अनुशासन उल्लंघन हुँदैन ?

– फ्यानको रूपमा नजिकिएकी किशोरीलाई घुमाउनका लागि नगरकोट पुर्‍याउनु स्टारडमको दुरुपयोग भएन ?

– सँगै रात बिताएको केटीलाई पछि सामाजिक सञ्जालमा ब्लक किन गरेको ?

– १८ वर्षमुनिको किशोरी÷बालिकासँग कुनै शारीरिक सम्बन्ध राख्न मिल्दैन भन्ने कानून बिर्सिएको कि जानाजान कुल्चिएको ?

यस्तै, किशोरीमाथि उब्जाइएका आम प्रश्नहरू यस्ता छन् ः

– सेलिब्रिटी हो भन्दैमा ऊसँग एक्लै नगरकोट जान किन तयार भएको ? १७ वर्षको केटीलाई झुक्क्याएर नगरकोट पुर्‍यायो भन्नु पत्यारिलो हुन्छ ?

– काठमाडौंबाट फर्किएपछि होटेलमा रात बिताउन किन तयार भएको ? आफन्त, साथीभाइसँग किन सहयोग नमागेको ?

– यदि राति दुई पटक बलात्कार भएको थियो भने तत्काल किन हारगुहार नगरेको ? होटेलका कर्मचारीलाई किन नबोलाएको ?

– राति बलात्कार भएको केटी भोलिपल्ट बिहान ‘बलात्कारी’ कै गाडीमा चढेर होस्टेलसम्म किन गएको ?

– बलात्कार भएकै दिन प्रहरीमा नगएर २० दिनसम्म पर्खिनुको मक्सद के थियो ? पहिले राजीखुशीको सम्बन्ध सन्दीपले सामाजिक सञ्जालमा ‘ब्लक’ गरेपछि मात्रै बलात्कारमा परिणत भएको हो ?

प्रहरीमाथि उब्जेका प्रश्न

– संवेदनशील विषयमा जाहेरी परेपछि गोप्य रुपमा अनुसन्धान अगाडि बढाउनुपर्नेमा हल्लाखल्ला र मिडियावाजी गर्न किन हतारिएको ?

– आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन भनेर बुझाउनुपर्ने प्रहरीले जाहेरी पर्नासाथ सन्दीपको नाम र पहिचान खुलाएर विज्ञप्ति जारी किन गरेको ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय