गार्डलाई जेल हाल्ने पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिकरूपमा माफी माग्नुपर्छ

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिकरूपमा माफी माग्नुपर्ने माग गर्नुभएको छ ।

आज मङ्गलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताउनुभएको हो । उहाँले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने भन्दै नागरिकले तिरेको करबाट सेवा सुविधा लिनेहरू शासक नभइ सेवक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई दिन अगाडिमात्रै हो, एक जना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ । उहाँले यसमा सार्वजनिकरूपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ तर सार्वजनिकरूपमा माफी माग्नुपर्छ । किनभने हामी सेवक हौँ । शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ ।’

सांसदहरूले विधि बनाउने भन्दै उहाँले विधि उल्लङ्घन गर्ने पनि उनै विधि बनाउनेहरू नै भएको टिप्पणी गर्नुभयो । यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आउँदाे सङ्घ र प्रदेश चुनावमा महिलाहरूलाई धेरै भन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । उहाँले डेङ्गी देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, कीटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सरकारी विद्यालयमा कार्यरत लेखापालहरूको सेवा, सुविधा र पारिश्रमिक उनीहरूको तहअनुसार मिलाउनका लागि सरकारसँग माग गर्नुभयो । उहाँले शिक्षा क्षेत्रको विकृति र विसङ्गतिको अन्त्य गर्न तत्काल सङ्घीय शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभा सदस्य नन्दा चपाईँले सवारी साधनको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका निम्ति आवश्यक कानुन निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय