काठमाडौं । दोलखाको बिगु गाउँपालिका- १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका एक युवकको शव भेटिएको हो ।
साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका-१ वाल्दिङ घर भई नासा हाइड्रोपावरको मिस्त्री काम गर्ने २७/२८ वर्षका रमेश बस्नेत बेपत्ता भएका थिए ।
उनको शव १७ दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गर्ने क्रममा बुधबार विहान १० बजे शव भेटिएको प्रहरीको भनाइ छ ।- अनलाईखबरबाट
यो पनि पढ्नुहोस् – काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।
‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’
बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले अदालतको भुइँ तल्लामा दसीका रुपमा आएका सवारी साधनहरु रहेको बताए । ‘अदालतमा दसीका रुपमा आएका सामानले पार्किङ भरिएको छ,’ उनले थपे, ‘महानगरबाट यसबारे जानकारी माग भएको छ । दुई जना कर्मचारी पनि आउनु भएको थियो ।’


