गुल्मीमा ३३ करोडका सडक आयोजना अधुरै, गाउँपालिकाका उपाध्यक्षले नै गर्दैनन् समयमा काम पूरै

हुमाकान्त पोखरेल – गुल्मी :गुल्मीमा गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने झण्डै ३३ करोडका सडक आयोजना अधुरै रहेका छन् । आर्थिक बर्ष २०७८÷७९ मा सम्पन्न हुनुपर्ने ३२ करोड ५९ लाख ३२ हजार ६५ रुपैँया ७७ पैसाका आठ सडक आयोजनाको समयमै काम नसक्दा योजना अधुरै रहेका हुन् ।

पूर्वाधार विकास कार्यालयअन्तरगत हुनुपर्ने तीन योजनाको काम पुरा भएको छैन । जसमा सबैभन्दा धेरै १२ किलोमिटरको सेउघा–सिमाघाट–बर्बोट सडक हो । २०७७ असार १० मा सम्झौता भएको कामको लागि भ्याट बाहेक १६ करोड ३२ लाख १६ हजार ४०४ रुपैँया ८० पैसा रहेको छ । स्वयम् निर्माण व्यवसायीले राखेको होर्डिङ बोर्डमा उक्त काम ०७८ असौज ०७ मा सम्पन्न भइसक्नुपर्ने थियो ।

तर अहिले निर्माण सामग्रीहरु सडकमै अलपत्र अवस्थामा छन् । जसले गर्दा होर्डिङ बोर्डले स्वयम् व्यवसायी र कार्यालयलाई नै गिज्याइरहेको छ । निर्माण व्यवसायी एएनके माउन्टेन जेभी, पानीपोखरी काठमाडौका प्रतिनिधि उपेन्द्र अर्याल अहिले काँग्रेसको तर्फबाट मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए । अर्याल आफु उपाध्यक्ष भएपनि सडक भने अधुरै राखेका छन् ।

तम्घास–रेसुङ्गा सडकअन्तरगत गड्जुरादेखि माथिको तीन किलोमिटर सडकको काम अझै पुरा भएको छैन । ०७४ असार ३० मा आशिष रामेछापले छ किलोमिटर सडक पिच गर्नको लागि भ्याट बाहेक १५ करोड १८ लाख ९९ हजार १०६ रुपैँया ७० पैसामा सम्झौता ग¥यो । उक्त काम गत असारसम्म सकिसक्नुपर्ने थियो । कम्पनीले सबै सडकमा ग्राभेल र नाली निर्माण गरी तीन किलोमिटर पिच गरेपनि तीन किलोमिटर सडक पिचको काम भने बाँकी राखेको छ । काम गरेबापत कम्पनीले पूर्वाधार विकास कार्यालयबाट ११ करोड ९६ लाख ८० हजार ३६९.९० रुपैँया बुझिसकेको छ । अहिले सडकको काम अधुरो छ ।

खाम्सेपानी–भुवनपानी–तल्लाखर्क–रातडाडा–सेउघाअन्तरगतको ४ं.५ किलोमिटर सडक पिच गर्नको लागि मोतिदान राजेश्वरी सुनिल समिर जेभीले ०७४ असार ३० गते सम्झौता ग¥यो । भ्याट बाहेक नौ करोड ४६ लाख ७३ हजार तीन सय रुपैँया ८५ पैसाको काम ०७९ असार मसान्तसम्म सकिसक्नुपर्ने थियो । तर हालसम्म २.५ किलोमिटर सडक मात्रै पिच भएको छ । बाँकी दुई किलोमिटर पक्की गर्ने काम अधुरै रहेको छ । कम्पनीले हालसम्म चार करोडभन्दा बढी रकम बुझिसकेको कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले बताए ।

पाल्पास्थित सडक डिविजन कार्यालयमार्फत दुई आयोजनाको काम अधुरै छ । सिद्धार्थ श्रेष्ठ जेभीले जिम्मा लिएको रुद्रवेणी–वामीटक्सार सडकअन्तरगत वामीटक्सार–भुवाचिदी खण्डको तीन किलोमिटर सडकको काम अधुरो छ । आ.व. ०७६÷७७ मा कुल पाँच करोड ९० लाखको सम्झौता गरेको कम्पनीले पाँच किलोमिटर पिच गर्नुपर्ने थियो । तर अहिलेसम्म दुई किलोमिटर मात्रै पक्की गरेको छ । उक्त काम गरेबापत कम्पनीले चार करोड ९० लाख भुक्तानी पाएको छ ।

रुद्रवेणी पल्लाफाँट सडकको २.५ कि.मि. सडक पिच गर्नेगरी रायमाझी राजेश्वरी पिटिआर अधिकारी जेभीले ०७८ जेठमा सम्झौता ग¥यो । उक्त काम ०७८ चैत मसान्तसम्म सकिसक्नुपर्ने थियो । तर हालसम्म पनि सडकको काम अधुरै रहेको सडक डिविजन पाल्पाका इन्जिनियर निरञ्जन शर्माले अर्यालले राजधानी दैनिकलाई बताए ।

रेसुङ्गा नगरपालिकास्थित आदर्शचोक–छात्रापाटा सेतोगुरास सडकअन्तरगतको २५० मिटर पिच गर्नेगरी डिएनडी कम्पनीले जिम्मा लियो । कुल ३५ लाखको काम गत आर्थिक बर्षमै सक्नुपर्ने थियो । तर विविध कारण देखाउदै काम अझैसम्म पनि पुरा भएको छैन ।

मदान भण्डारी राजमार्ग अन्तगतको फुलवारी चोरकाटे सडकमा १.२ किलोमिटर सडक पिच गर्नको लागि मोडिल कन्स्ट्रक्सनले ०७८ असार ६ गते सम्झौता ग¥यो । कुल एक करोड २३ लाख १८ हजार १७४ रुपैँया ७२ पैसाको काम ०७८ पौष ३० गते सम्पन्न हुने उल्लेख छ । तर अहिलेसम्म पनि काम पुरा भएको छैन । फुलवारी चोरकाटे सडकअन्तरगत छ सय मिटर सडक पिच गर्नको लािग श्रेष्ठ कन्स्ट्रक्सन सेवाले एक करोड आठ लाख ५४ हजार ३७६.३५ मा सम्झौता ग¥यो । गत वैशाखको ८ गते सम्झौता गरेको काम असार २० गतेसम्म पुरा गरिसक्नुपर्ने थियो । तर अहिले पनि काम अलपत्र जस्तै छ ।

सदरमुकाम तम्घासको सडक स्तरोन्नती गर्ने काम पनि गत आ.व.मा सम्पन्न हुन सकेन । गत वैशाखमा काठमाडौको आर.ए. विल्डर्सले भ्याट बाहेक तीन करोड ९१ लाख ५१ हजार ७४ रुपैँया २५ पैसामा कामको सम्झौता ग¥यो । उक्त रकमबाट भगवती मन्दिरदेखि बेरियलसम्मको सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने, कोष तथा लेखा नियन्त्रकको कार्यालय जाने बाटो र सोही कार्यालय हुँदै रेसुङ्गा मावि जाने २५० मिटर सडक नालीसहित कालोपत्रे गर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी सडकमा ट्राफिक चिन्ह राख्ने, ट्राफिक नियमसहितका रङ्ग लगाउने लगायतका कार्य गर्ने सम्झौतामा उल्लेख छ । तर विभिन्न बाहाना बनाउदै काम गरिएको छैन । बरु उल्टै सडक भत्काइएको छ ।

निर्माण व्यवसायी गुल्मीका महासचिव हरी कुमार श्रेष्ठले समयमै भुक्तानी नपाउनु, मूल्य बृद्धि, गिट्टी बालुवाको सहजिकरण नहुनु जस्ता कारणले काममा ढिलाई हुने गरेको बताए । काम सकेपनि प्राविधिकले ठिकसँग मूल्याकंन नगर्ने, ठेक्काकै रकमबाट प्रहरी, राजनीतिक दल लगायत सबैलाई मिलाउनुपर्ने भएकोले पनि काम समयमै नसकिने श्रेष्ठको भनाई छ । ‘काम सम्पन्न भएका योजनाको करोडौ रकम भुक्तानी भएको छैन ।’ उनले भने, ‘राज्य व्यवसायीप्रति उत्तरदायी नहुँदा समस्या भएको छ ।’

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी सूर्य भण्डारीले चालु आर्थिक बर्षमा तीनओटै योजनाको काम पुरा हुने बताए । ‘काममा समस्या देखिएपनि व्यवसायीहरुले म्याद थपको प्रक्रिया अपनाउनुभएको हो ।’ उनले राजधानीसँग भने, ‘यो बर्ष पुराना आयोजनाको काम पुरा हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय